सीकेले गरे बालेनलाई भारतीय चर्चित अभिनेता देवानन्दसँग तुलना
himalpress.com · Sun Jun 21 10:39:27 GMT 2026

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) को प्रशंसा गर्दै उनलाई भारतीय चर्चित अभिनेता देवानन्दसँग तुलना गरेका छन्।
रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राउतले बालेन युवा, स्टाइलिस र ड्यासिङ व्यक्तित्व भएको बताए। उनले बालेनले लगाउने कालो पोसाकको प्रसंग उल्लेख गर्दै हास्य शैलीमा देवानन्दसँग तुलना गरेका हुन्।
‘भारतमा देवानन्दलाई कालो लुगा लगाउन निषेध थियो। हाम्रो देशमा पनि विपक्षीले बालेनलाई कालो लुगा लगाउन नपाउने भनेर ऐन ल्याउन माग गर्न बेर छैन,’ राउतले भने।
सम्बोधनका क्रममा उनले रास्वपाले देखेको परिवर्तन र समृद्ध नेपालको सपना आफूले पनि देखेको बताए। देशमा सकारात्मक परिवर्तन, सुशासन र समृद्धि ल्याउने उद्देश्यले राजनीति गरिरहेको उल्लेख गर्दै उनले रास्वपासँग आफ्नो सोच मिल्ने बताए।
‘तपाईंभित्र जुन देश बनाउने अठोट छ, देशमा केही समृद्धि आओस् भन्ने चाहना छ, त्यसका लागि आउनुभएको हो। त्यही चाहना मभित्र पनि भएकाले शुभकामना दिन आएको हुँ। जुन सपना तपाईंहरूले देख्नुभएको थियो, त्यही सपना मैले पनि देखेको थिएँ,’ उनले भने।
राउतले आफू रास्वपाको प्रतिस्पर्धी नभई सहयात्रीका रूपमा उपस्थित भएको समेत बताए। ‘म कुनै प्रतिस्पर्धीको रूपमा होइन, सहयात्रीको रूपमा उपस्थित भएको छु,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
सिके राउत
बालेन शाह