बीपी कोइरालापछिको नेता रवि लामिछाने हुन सक्छन् - सीके राउत
nepalviews.com · Sun Jun 21 10:42:02 GMT 2026

चितवन । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्दै आफू र रास्वपाले देश परिवर्तनको एउटै सपना देखेको बताएका छन् । उनले आफू प्रतिस्पर्धीका रूपमा नभई सहयोगीका रूपमा महाधिवेशनमा सहभागी भएको बताए ।
राउतले संसदीय राजनीतिबाट आफूले सन्न्यास लिइसकेको उल्लेख गर्दै आफूलाई महाधिवेशनमा आमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गरे । उनले देशभरबाट परिवर्तनको विश्वास बोकेर आएका कार्यकर्तालाई सम्बोधन गर्दै देश बदल्ने सपना आफूले पनि देखेको स्मरण गरे ।
'मैले पनि ल्यापटपमा टाउको राखेर रोएको छु । हामीले एउटै सपना देख्यौं, आन्दोलन पनि गर्यौं । तर जनताले सबैलाई विश्वास गर्ने सौभाग्य मिल्दैन, त्यो विश्वास तपाईंहरूले पाउनुभएको छ,' उनले भने ।
उनले रास्वपालाई जनताको विश्वास जोगाउँदै अघि बढ्न आग्रह गर्दै जनरेशन–जेडका युवाको पीडा र शहीदका सपना नबिर्सन आग्रह गरे । मधेसी समुदायको छोरालाई प्रधानमन्त्री बनाएको भन्दै रास्वपाप्रति आभार व्यक्त गरेका उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको पनि प्रशंसा गरे ।
राउतले संसद्मा रहँदा परिवर्तन कसरी ल्याउने भन्ने विषयमा घण्टौं छलफल गरेको स्मरण गर्दै आफूले 'बीपी कोइरालापछिको नेता रवि लामिछाने हुन सक्छन्' भन्ने विश्वास गरेको बताए ।
'जनताले सधैं जनताकै बीचमा रहने आफ्नो मान्छे सीकेलाई भन्दा तपाईंलाई रोजेका छन् । अब त्यो विश्वास र जिम्मेवारी पूरा गर्नुहोस्,' उनले भने ।
उनले रास्वपालाई संघीयतालाई अझ बलियो बनाउन, हुलाकी राजमार्गको निर्माण पूरा गर्न तथा जनतासँग गरेका वाचा कार्यान्वयन गर्न आग्रह गरे ।
सम्बोधनको अन्त्यमा उनले जनविश्वासको महत्वबारे रूपक प्रयोग गर्दै भने, 'जनता र हावा उस्तै हुन् । हावा र जनता कसैको हुँदैनन् । बेलुनभित्रको हावा एउटा सियोले फुटेपछि जस्तै जनताको विश्वास पनि क्षणभरमै गुम्न सक्छ । त्यसैले जनतालाई सधैं हृदयमा राखेर काम गर्नुहोस् ।'ू
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
सिके राउत
काठमाडौँ