उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गुणस्तर सुधाछौँ : स्वर्णिम वाग्ले
ratopati.com · Sun Jun 21 10:47:16 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले आन्दोलनले ल्याएका उपलब्धिहरूको सम्मान गर्दै अब लोकतन्त्रको संस्थागत गुणस्तर सुधार्ने आफूहरूको उद्देश्य रहेको बताएका छन् ।
डा.वाग्लेले रास्वपा केवल सत्ता परिवर्तनका लागि नभई देशको समग्र राजनीतिक र आर्थिक प्रोत्साहन संरचना परिवर्तन गर्न जन्मिएको बताए ।
पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन चितवनको भरतपुरमा सम्बोधन गर्दै डा.वाग्लेले रास्वपा नेपाली समाजमा सञ्चित निराशा र परिवर्तनको तीव्र आकाङ्क्षाको राजनीतिक अभिव्यक्ति भएको बताए । उनले विगतका आन्दोलनले ल्याएका उपलब्धिहरूको सम्मान गर्दै अब लोकतन्त्रको संस्थागत गुणस्तर सुधार्नुपर्ने बताए ।
उनले राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने र प्रतिस्पर्धाभन्दा नियन्त्रण गर्ने संस्कार विकास गरेको भन्दै रास्वपाले विवेक र विधिमा आधारित शासनको वकालत गर्ने बताए ।
रास्वपा अब आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुन लागेको घोषणा गर्दै डा.वाग्लेले नयाँ पुस्ताले प्रश्न मात्र होइन, उत्तर र परिणाम पनि दिन सक्छ भन्ने प्रमाणित गर्ने बेला आएको बताए । ‘हामी कसैलाई हराउन होइन, नेपाललाई जिताउन आएका हौँ,’ उनले भने, ‘रास्वपाको शक्ति आक्रोश मात्र होइन, आशा हुनुपर्छ आलोचना मात्र होइन, विकल्प हुनुपर्छ।’
आफूहरूले बालकको भविष्य उसको जात वा भूगोलले होइन, प्रतिभाले निर्धारण गर्ने समन्यायिक समाज निर्माण गर्ने, युवाहरू अवसरका लागि बिदेसिनु नपर्ने, आफ्नै माटोमा ज्ञान र सीपको सम्मान हुने वातावरण निर्माण गर्ने बाटोमा अघि बढेको बताए ।
इतिहासले हाम्रो पुस्तालाई देश बदल्ने दुर्लभ अवसर दिएको भन्दै उहाँले यसलाई सदुपयोग गर्न आह्वान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)