संविधान संशोधन र सुशासनमा रास्वपाले नेतृत्व लिनुपर्छ - उपेन्द्र यादव
nepalviews.com · Sun Jun 21 10:45:57 GMT 2026

चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनले नयाँ युगको थालनी गर्ने विश्वास व्यक्त गरेका छन् । उनले विगतका विकृति र विसंगतिलाई त्यागेर मुलुकलाई नयाँ दिशामा अघि बढाउने अवसर महाधिवेशनले प्रदान गरेको बताए ।
महाधिवेशनलाई शुभकामना दिँदै यादवले नेपाल अहिले सुशासन, सामाजिक न्याय र समानताको खोजीमा रहेको उल्लेख गरे । उनका अनुसार सयौं वर्षदेखि विभेदमा परेका समुदायहरू अहिले समान अधिकार र सम्मानको अपेक्षामा छन् ।
यादवले वर्तमान संविधानलाई संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिका कारण महत्त्वपूर्ण मान्नुपर्ने भए पनि त्यसमा अझै अपूर्णता र विरोधाभास रहेको बताए । उनले संविधान संशोधन गरेर विद्यमान कमजोरी र विसंगति हटाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसमा रास्वपाले पनि भूमिका खेल्नुपर्ने धारणा राखे ।
"संविधानसभाबाट जारी भएको संविधान अपूर्ण छ । त्यसका त्रुटि र विरोधाभास संशोधनमार्फत सच्याउनुपर्छ, र त्यसमा रास्वपाको पनि जिम्मेवारी छ," उनले भने ।
अध्यक्ष यादवले लाखौं नेपाली युवा रोजगारीका लागि विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आर्थिक विकासलाई अब प्रमुख प्राथमिकता बनाउनुपर्ने बताए । उनका अनुसार आर्थिक विकासका लागि सुशासन र सामाजिक न्याय अपरिहार्य आधार हुन् ।
उनले मुलुकमा नयाँ युगको सुरुवात गर्ने अभियानमा आफ्नो पार्टीको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)