मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आइजीपी कार्कीको गाउँमा नि:शुल्क स्वास्थ्य शिविर

setopati.com · Sun Jun 21 10:59:51 GMT 2026

गुल्मीको मालिका गाउँपालिका–७ घमिरमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जन्मथलो घमिरस्थित स्वास्थ्य चौकीमा आयोजित शिविरको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले उद्घाटन गरेकी हुन्।

उनी आइजीपी कार्कीकी धर्मपत्नी हुन्।

‘हर प्रहर, गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासहित शिविर सञ्चालन गरिएको हो।

नेपाल प्रहरी श्रीमती संघ महिला विकास केन्द्र, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंजको संयुक्त आयोजनामा भएको शिविरमा तीन सय बढी स्थानीयले स्वास्थ्य परीक्षण, परामर्श तथा निशुल्क औषधि प्रदान गरिएको थियो।

विकट गाउँका वृद्धवृद्धा, महिला तथा लामो समयदेखि स्वास्थ्य समस्या सहँदै आएका नागरिकलाई लक्षित गर्दै शिविर संचालन गरिएको अध्यक्ष कार्कीले बताइन्।

विशेषगरी पाठेघरसम्बन्धी समस्यासहित महिलाका स्वास्थ्य समस्या खुलेर चिकित्सक समक्ष राख्न उनले आग्रह गरेकी थिइन्। शिविरमा औपचारिक कार्यक्रमभन्दा बढी बिरामीको समस्या सुन्न र सेवा प्रवाहमा जोड दिन उनले चिकित्सकलाई आग्रह गरेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)