रास्वपा महाधिवेशनमा एमाले नेता ज्ञवालीको सन्देश-राष्ट्रियता र लोकतन्त्र जोगाउन सबै शक्ति सचेत हुनुपर्छ
nepalpress.com · Sun Jun 21 11:43:50 GMT 2026

चितवन । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले देश कमजोर हुँदा कुनै पनि राजनीतिक दल, नेता वा शक्तिको अस्तित्व सुरक्षित नरहने भन्दै राष्ट्रिय हित, लोकतन्त्र र जनजीविकाका विषयमा सबै राजनीतिक शक्ति सचेत हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नेपाली समाजमा प्रचलित उक्ति ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु’ स्मरण गराउँदै कठिन समयमा राष्ट्रको आधारभूत शक्ति, लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय एकतालाई जोगाउनुपर्ने आवश्यकता औँल्याए ।
‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भन्ने उक्ति हामीले बिर्सनु हुँदैन’, उनले भने, ‘देश कमजोर हुँदा कसैको पनि अस्तित्व रहँदैन ।’ ज्ञवालीले परराष्ट्र नीति स्पष्ट, सन्तुलित र राष्ट्रिय हितअनुकूल हुनुपर्ने उल्लेख गर्दै राष्ट्रियताको रक्षाका विषयमा सबै राजनीतिक शक्ति संवेदनशील हुनुपर्ने बताए । उनले जनताको जनजीविका, आर्थिक अवस्था, रोजगारी र जीवनस्तर सुधारका विषयमा पनि गम्भीर बन्न आग्रह गरे ।
उनले पछिल्लो समय लोकतन्त्रलाई कमजोर बनाउने वा संस्थामाथि अविश्वास बढाउने प्रवृत्तितर्फ सचेत रहनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीलाई थप बलियो बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
‘लोकतन्त्रलाई बलियो बनाउने दिशातर्फ जान थालेको छौं, त्यसलाई कमजोर बनाउने कुनै पनि प्रवृत्तिप्रति सजग रहनुपर्छ’, उनले भने । ज्ञवालीले जनताको विश्वास प्राप्त गर्नु ठूलो उपलब्धि भए पनि त्यसलाई परिणाममा रूपान्तरण गर्नु अझ ठूलो चुनौती भएको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण, जनताको श्रीवृद्धि र राष्ट्रको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरूले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)