'सुशासनको एजेन्डामा रास्वपासँग सधैं सहकार्य रहन्छ'- वर्षमान पुन
aarthiknews.com

चितवन। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग विगतदेखि नै सहकार्य रहेको र आगामी दिनमा पनि सहकार्य जारी रहने बताएका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले सुशासन र भ्रष्टाचार नियन्त्रणको साझा एजेन्डामा दुवै दल एकै ठाउँमा रहेको स्पष्ट पारे।
उनले रास्वपाको महाधिवेशनलाई राष्ट्रिय राजनीतिक दृष्टिले महत्वपूर्ण भएको उल्लेख गर्दै यसले चयन गर्ने नेतृत्व, विचार र रणनीतिले समग्र राजनीतिमा प्रभाव पार्ने बताए।
पुनका अनुसार रास्वपा पहिलो पटक देशव्यापी संगठनात्मक संरचनासहित अघि बढिरहेको छ, जसले पार्टीको विकासक्रममा महाधिवेशनलाई ऐतिहासिक बनाएको छ।
उनले आफ्नो पार्टी र रास्वपाबीच पृष्ठभूमि र संघर्षका शैली फरक भए पनि परिवर्तन, समाज रूपान्तरण र सुशासनका मुद्दामा समानता रहेको दाबी गरे। “सुशासनको एजेन्डामा हामी सधैं सहकार्यमा छौँ,” उनले भने।
पुनले लोकतान्त्रिक मूल्य, न्याय र सुशासनका पक्षमा विगतमा पनि सहकार्य भएको उल्लेख गर्दै अबका प्रयासहरू संविधान र कानुनी दायराभित्र रहनुपर्नेमा जोड दिए।
यद्यपि केही नीतिगत र वैचारिक भिन्नता रहे पनि सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति स्पष्ट प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो।
उनले रास्वपाको उदयले नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता र आशा बढाएको उल्लेख गर्दै लोकतन्त्रमा शक्ति अस्थायी भए पनि विधि, प्रक्रिया र संस्था स्थायी हुनुपर्ने धारणा राखे।
“लोकतन्त्रमा सरकार र संख्या अस्थायी हुन्छन्, तर विधि, प्रक्रिया र संस्था स्थायी हुनुपर्छ,” उनले भने।
पुनले महाधिवेशन सफलताको शुभकामना दिँदै सक्षम नेतृत्व चयन गरी रास्वपा अझ संगठित र स्पष्ट राजनीतिक दिशासहित अघि बढ्ने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)