मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानी मध्यस्थकर्ताहरूसँगको भेटमा नेतन्याहुसम्बन्धी प्रश्नमा भान्स मौन

ratopati.com · Sun Jun 21 12:03:30 GMT 2026

बर्न । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्विट्जरल्यान्डमा पाकिस्तानी मध्यस्थकर्ता टोलीसँग भेट गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबारे सोधिएको प्रश्नको जवाफ दिन अस्वीकार गरेका छन् ।

इरानी अधिकारीहरूसँग हुने वार्ताअघि ल्युसर्न नजिकको बुर्गेनस्टक रिसोर्टमा आयोजित द्विपक्षीय भेटमा भान्सले पाकिस्तानको प्रतिनिधिमण्डललाई उपस्थितिका लागि धन्यवाद दिएका थिए । तर पत्रकारहरूले ‘प्रधानमन्त्री नेतन्याहूलाई तपाईंको सन्देश के छ ?’ भनेर सोध्दा उनले कुनै प्रतिक्रिया दिएनन् ।

पछिल्ला दिनहरूमा अमेरिकी प्रशासनले लेबनानमा इजरायलको निरन्तर सैन्य अभियानप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ । अमेरिकाले इजरायल र हिजबुल्लाहबिच बढ्दो आक्रमण–प्रत्याक्रमणले इरानसँग भइरहेको संवेदनशील युद्धविराम तथा शान्ति वार्तालाई कमजोर बनाइरहेको चेतावनी दिएको छ । भान्सले शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिका र इजरायलबिच हिंसा अन्त्य गर्ने तरिकाबारे फरक दृष्टिकोण हुन सक्ने बताएका थिए ।

उनले भनेका थिए, ‘हामी लक्ष्यमा सहमत हुन सक्छौं, तर त्यसलाई कसरी हासिल गर्ने भन्ने विषयमा मतभेद हुन सक्छ ।’ भान्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वमा इजरायलप्रति सबैभन्दा सहानुभूति राख्ने राष्ट्रप्रमुखको रूपमा चित्रण गरेका थिए । उनले भने, ‘यस समयमा इजरायल राष्ट्रप्रति सहानुभूति राख्ने विश्वका एकमात्र राष्ट्रप्रमुख डोनाल्ड ट्रम्प हुन् ।’

भान्सले इजरायली नेतृत्वलाई लक्षित गर्दै थप टिप्पणी गरेका थिए, ‘यदि म इजरायली सरकारको मन्त्रिपरिषद्मा भएको भए, संसारमा बाँकी रहेको आफ्नो एकमात्र शक्तिशाली सहयोगीमाथि आक्रमण गर्ने थिएनँ ।’ यस अभिव्यक्तिलाई विश्लेषकहरूले अमेरिकाले इजरायलमाथि सार्वजनिक रूपमा दबाब बढाउन थालेको संकेतका रूपमा हेरेका छन् ।

भान्सको पाकिस्तानी प्रतिनिधिमण्डलसँगको भेटलाई अमेरिका–इरान वार्ताको पूर्वतयारीका रूपमा हेरिएको छ । पाकिस्तानले पछिल्ला महिनाहरूमा अमेरिका र इरानबिच संवाद कायम गराउन मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय