रास्वपा उदयलाई षड्यन्त्र होइन, जनविद्रोह मान्नुपर्छ : डा. बावुराम भट्टराई
arthadabali.com · Sun Jun 21 12:35:17 GMT 2026

चितवन / पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयलाई नेपाली राजनीतिमा वैकल्पिक शक्तिको महत्वपूर्ण उपलब्धि भन्दै यसलाई सुशासन र समृद्धिको यात्रासँग जोड्नुपर्ने बताएका छन्।
चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफूलाई ७२ वर्ष पुगे पनि मञ्चमा नयाँ पुस्ताको ऊर्जा देख्दा २७ वर्षको जस्तो अनुभूति भएको बताएका थिए। उनले आफूलाई “निरन्तर विद्रोही” को रूपमा चित्रित गर्दै जीवनभर वैकल्पिक राजनीतिको पक्षमा उभिएको उल्लेख गरे।
भट्टराईले पछिल्ला चार वर्षमा रास्वपाले जनताको मन जितेर हासिल गरेको राजनीतिक उपलब्धिलाई “ऐतिहासिक परिवर्तनको नयाँ चरण” का रूपमा व्याख्या गरे। उनले जनसमर्थनलाई कुनै षड्यन्त्रको दृष्टिले होइन, सामाजिक परिवर्तनको स्वाभाविक प्रक्रियाका रूपमा बुझ्नुपर्ने बताए।
उनका अनुसार नेपालमा लामो समयदेखि 'षड्यन्त्र सिद्धान्त'मा अल्झिने प्रवृत्ति देखिँदै आएको छ, तर वास्तविक परिवर्तन भने समाजको आवश्यकता र जनआकांक्षाबाट आउने उनले स्पष्ट पारे।
भट्टराईले आफूले विगत १०–११ वर्षदेखि अघि सारेको वैकल्पिक राजनीतिक अभियानको निरन्तरता नै अहिलेको रास्वपा आन्दोलन भएको टिप्पणी गरे।
उनले नेतृत्व, संगठन र विचार स्पष्टतामा ध्यान दिनुपर्ने भन्दै नयाँ शक्तिहरूबीच आन्तरिक एकता महत्वपूर्ण हुने चेतावनी पनि दिए। विशेषगरी नेतृत्वलाई व्यक्तिगत प्रतिस्पर्धामा होइन, साझा लक्ष्यमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
भट्टराईले रास्वपाको उदयलाई 'रिले रेस'सँग तुलना गर्दै एक पुस्ताले सुरु गरेको परिवर्तन अर्को पुस्ताले अझ अगाडि बढाउनुपर्ने बताए। बीपी कोइराला, पुष्पलालदेखि गणतन्त्रसम्मको राजनीतिक यात्राको निरन्तरता अहिलेको पुस्ताले सुशासन र समृद्धितर्फ अघि बढाउनुपर्ने उनको भनाइ थियो।
उनले देशको सुशासन र विकासका लागि सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै विदेश जान बाध्य युवापुस्ताको आकांक्षा पूरा गर्नु मुख्य चुनौती रहेको बताए।
अन्त्यमा उनले रास्वपालाई दीर्घकालीन राजनीतिक स्थिरता, स्पष्ट विचारधारा र एकताका साथ अघि बढ्न शुभकामना दिएका थिए।
सम्बन्धित विषय:
# डा. बावुराम भट्टराई
# रास्वपा
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)