दुर्गममा पनि ट्राफिक सतर्कता जरुरी
rajdhanidaily.com · Thu Oct 20 23:23:08 GMT 2022
तिहारको मुखैमा आएर बझाङको मस्टा गाउँपालिकाअन्तर्गत चिउरी भन्ने ठाउँमा भएको जिप दुर्घटनाले सबैको मनमस्तिष्क हल्लाएको छ । जिप दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु हुनु भनेको सानो कुरा होइन । त्यसमा पनि एकाघर परिवारमा रहेका मानिसको मृत्य हुनु भनेको निकै पीडादायी कुरा हो । पर्वका अवसरमा मानिसको यात्रा बढी हुने गर्छ । भेटघाट र आउजाउ निकै बाक्लो हुन्छ । यो बेलामा सवारी साधनको कमी हुने भएकाले एउटै सवारी साधनमा बढी यात्रु खाँदिन पुग्छन् । यसले गर्दा मानिसको भार बढी हुन गई सवारी साधनले आप्mनो सन्तुलन गुमाउन पुग्छ । त्यसो त बाटाघाटा निकै दयनीय अवस्थामा छन् । कच्ची बाटोमा अनगिन्ती घुम्ती हुन्छन् । यस्ता घुम्ती पानी परेको र शीत परेको अवस्थामा निकै जोखिमपूर्ण हुन्छन् । त्यसमाथि चालकहरूले मादक पदार्थ सेवन गर्ने, स्थानीय र चिनेजानेका आफन्त हुने हुनाले ड्राइभरसँग अनावश्यक कुरा गर्ने, इत्रने वा जिस्कने आदि कारणले पनि अनावश्यक दुर्घटना निम्त्याउने गरेको पाइन्छ । आजसम्मका दुर्घटनाका कारक यिनै कुरा नै हुँदै आएका छन् । दुर्घटनाबाट बर्र्सनि २ हजार बढीको मृत्यु हुने गरेको तथ्यांक छ, जुन निकै दुखद र त्रासदीपूर्ण हो ।
दुर्घटना अग्रिम जानकारी दिएर आउने गर्दैन । दुर्घटना जसका कारणले पनि हुन सक्छ । चालक, यात्रु, अर्को बाहन, मेसिन, बाटो र परिवेशका कारण पनि दुर्घटना हुन जान्छ । दुर्घटनामा मृत्यु हुनेले ज्यान गुमाउने मात्र होइन, घाइते हुनेले जीवनभर कष्ट र पीडा सहनुपर्ने हुन्छ । तिनका परिवारले मृतकको अनुपस्थितिको पीडाबोध गरिरहनु पर्छ । तथापि, यस्ता पीडादायी दुर्घटना रोकथामका लागि चालिनुपर्ने सकारात्मक कदममा सुधार आउन भने सकेको छैन । बझाङ जिप दुर्घटनामा बझाङमा जिप दुर्घटना सात जनाको मृत्यु, १६ जना घाइते र तीन जना गम्भीर घाइते भएको तथ्यांकले यसको असर कति भयावह छ भन्ने स्पष्ट पारेको छ । परिणामतः दुर्घटनामा परेका परिवारले उनीहरूको मृत्युपर्यन्त आर्थिक, सेवा र समय दिइरहनु पर्छ । दुर्घटनाका कारकमा सबैभन्दा ठूलो भनेको बाटोघाटो नै हो । बझाङको सोही स्थानमा आजभन्दा झन्डै तीन वर्षअघि जिप दुर्घटना हुँदा मस्टा गाउँपालिकाका एउटै वडाका १० जनाको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)