मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायको पक्षमा दृढतापूर्वक उभिन रास्वपालाई पूर्वप्रधानमन्त्री डा. भट्टराईको सुझाव

gorkhapatraonline.com · Sun Jun 21 13:15:00 GMT 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सधैँ सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिनुभएको छ । चितवनको भरतपुरमा आइतबार आयोजित सत्तारुढ रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले रास्वपाले छोटो समयमै प्राप्त गरेको अभूतपूर्व राजनीतिक सफलतालाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीका रूपमा आफूले लिएको उल्लेख गर्दै मुलुकमा सुशासन र समृद्धिका लागि अझ सक्रियतापूर्वक अघि बढ्न आग्रह गर्नुभयो । रास्वपाको उदय र सफलताका बारेमा आफ्नो पुस्ताका कतिपय स्थापित नेताहरूले भ्रमपूर्ण विचार राख्ने गरे पनि आफूले भने यसलाई नेपाली जनताको चाहना र नयाँ खालको चेतनाको परिणामका रूपमा बुझेको उहाँले प्रष्ट पार्नुभयो ।

उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै डा. भट्टराईले भन्नुभयो, “रास्वपाले स्थापनाको चार वर्षभित्र जुन उपलब्धि हासिल गर्‍यो, परम्परागत आन्दोलन र सङ्घर्षभन्दा पनि जनताको मन जितेर तथा आधुनिक प्रविधिमार्फत आफ्नो विचार सम्प्रेषण गरेर जसरी यो ऐतिहासिक सफलता हासिल गरेको छ, यसलाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीका रूपमा लिनुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ ।” उहाँले अघिल्लो पुस्ताका नेताहरूतर्फ इङ्गित गर्दै भन्नुभयो, “मेरो पुस्ताका साथीहरूलाई ठुलो भ्रम छ । उहाँहरू यो सफलतालाई दक्षिणले गरायो, उत्तरले गरायो वा पश्चिमले गरायो भन्ने जस्ता काल्पनिक कथाहरू बुनिराख्नुभएको छ । तर मेरो स्पष्ट धारणा के छ भने, तपाईँहरू बाहिरी हल्लाको पछि नलागी सत्य र न्यायको पक्षमा दृढ हुनुपर्छ ।”

डा. भट्टराईले आफूले विगत लामो समयदेखि नयाँ राजनीतिक शक्ति भन्दै वैकल्पिक राजनीतिको पैरवी र अभ्यास गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै रास्वपाको वर्तमान स्वरूपलाई त्यही वैकल्पिक अभियानकै सबैभन्दा महत्त्वपूर्ण उपलब्धिको रूपमा आफूले सहर्ष ग्रहण गरेको बताउनुभयो । उहाँले रास्वपाको यस ऐतिहासिक महाधिवेशनको सफलताको कामना गर्दै आगामी दिनमा सुशासन र समृद्धिको वास्तविक फल सम्पूर्ण नेपाली नागरिकहरूले प्राप्त गर्न सक्ने वातावरण निर्माणमा पार्टीले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)