मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सकुशल उद्धार

nepalviews.com · Sun Jun 21 13:10:36 GMT 2026

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकामा बागमती नदीको बाढीको बीचमा फसेका १४ जना स्थानीय नागरिकको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।

आइतबार अपराह्न नदीमा अचानक पानीको बहाव र सतह बढेपछि उनीहरू नदीको बीच भागमा रहेको टापुमा थुनिएका थिए । उद्धार गरिएकाहरूमा ११ जना महिला र ३ जना बालिका रहेका छन् ।

प्रहरीका अनुसार दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाट नजिकैको नदी उता पट्टीको बगरमा उनीहरू मुंगको दाल (कोसा) टिप्न गएका थिए । दिउँसो मुंग टिपेर घर फर्कने क्रममा अचानक बागमती नदीमा पानीको सतह बढेर आयो । दिउँसो करिब ३ः४० बजे नदीको बहाव तीव्र भएपछि उनीहरूले नदी पार गर्न सकेनन् र बीचकै एउटा टापु जस्तो स्थानमा फस्न पुगे । चारैतिरबाट पानीले घेरेपछि उनीहरूले उद्धारका लागि गुहार मागेका थिए । स्थानीयबासीले तत्कालै यसबारे सुरक्षा निकायलाई जानकारी गराएका थिए ।

घटनाको सूचना पाएलगतै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहतका विपद् व्यवस्थापन (डीएम) पोष्टहरूबाट विशेष टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक (एएसआई) यज्ञबहादुर योञ्जनको कमाण्डमा १७ सदस्यीय दक्ष उद्धार टोली रबर बोट र आवश्यक उद्धार सामग्रीसहित तत्कालै घटनास्थल मत्सरी घाट पुगेको थियो ।

उद्धार कार्यलाई थप सुरक्षित र छिटो बनाउन स्थानीय ईलाका प्रहरी कार्यालय गंगापिपराबाट पनि नेपाल प्रहरीको टोली घटनास्थलमा खटिएको थियो । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले रबर बोटको सहायताले नदीको बीच भागमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

सुरक्षाकर्मीहरूको झण्डै डेढ घण्टाको प्रयासपछि साँझ ५ः०० बजेसम्ममा फसेका सबै १४ जनालाई सुरक्षित रूपमा नदी किनारमा ल्याइएको थियो ।

सशस्त्र प्रहरी बल रौतहटका एसपी रामहरी अधिकारीका अनुसार नदीमा अचानक पानीको बहाव बढेका कारण उनीहरू टापुमा फसेका थिए ।

‘हाम्रो टोली समयमै आवश्यक तयारी र रबर बोटसहित पुगेकाले कुनै अप्रिय घटना हुन पाएन,’ एसपी अधिकारीले भने, ‘सकुशल उद्धार गरिएका ११ महिला र ३ बालिका सबैको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरू आ–आफ्नो घर फर्किसकेका छन् ।’

मनसुन सक्रिय भएसँगै रौतहट र आसपासका नदीहरूमा पानीको बहाव उतारचढाव भइरहने हुँदा नदी तटीय क्षेत्रका नागरिकहरूलाई सतर्कता अपनाउन र नदी पार गर्दा ध्यान दिन स्थानीय प्रशासन र सुरक्षा निकायले आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)