मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा केन्द्रीय सदस्यमा लुम्बिनीबाट ५ दर्जन नेताहरू आकांक्षी, पदाधिकारीमा चारजना दाबेदार

nepalpress.com · Sun Jun 21 13:58:13 GMT 2026

रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि लुम्बिनी प्रदेशबाट करिब ५० जना आकांक्षी देखिएका छन् । उनीहरूमध्ये रुपन्देहीका धेरै छन् ।

प्रतिनिधि सभाका सदस्यहरूदेखि पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा बसेर काम गरेकाहरूले केन्द्रीय सदस्यका लागि चाहना राखेका हुन् । पदाधिकारीमा भने लुम्बिनीबाट अहिलेसम्म ४ जनाको मात्रै दाबेदारी छ । सहमहामन्त्री रहेका विपिन आचार्य, मन्त्री सुनिल लम्साल, गुल्मीका सागर ढकाल तथा प्यूठानका सुशान्त वैदिक पदाधिकारीको दाबेदार हुन् ।

रुपन्देहीका ज्ञानु पौडेल, गोपाल घिमिरे, डाक्टर बुद्धि शर्मा, डाक्टर योगेन्द्र अग्रहरी, अमृत भुसाल, कल्पना पाण्डे, सुलभ खरेल, महेन्द्र गुप्ता, पुनमकुमारी अग्रवाल, अमृता विक, चित्रबहादुर कार्कीलगायत केन्द्रीय सदस्यको लागि चुनावी मैदानमा उत्रिने तयारीमा छन् । दाङकै विपिन आचार्य महामन्त्रीका आकांक्षी हुन् । हाल उनी सहमहामन्त्री छन् । केन्द्रीय सदस्यको दौडमा रहेका देवराज पाठक, क्रान्तिशिखा धिताल, सुशीला अधिकारी, कमल सुवेदी, सुरेश चौधरी, दीपेन्द्र लामालगायतले पनि चुनावी मैदान तताइरहेको महाधिवेशनस्थलमा रहेका प्रतिनिधि गुनाराम घिमिरेले बताए ।

कपिलवस्तुका नारायणप्रसाद खनाल, मिर्जा राशिद बेग, गुल्मीका गोविन्द पन्थी, भोजराज पाण्डे पनि उम्मेदवारीको तयारीमा छन् । गुल्मीका सागर ढकाल केन्द्रीय पदाधिकारीमा भिड्ने चर्चा चलेको छ । गुल्मीबाट सांसद गोविन्द पन्थी, जीतेन्द्र जिसीलगायत आकांक्षीले केन्द्रीय सदस्यमा प्रचार गरिरहेका छन् ।

त्यस्तै बाकेका निलराज अधिकारी, जमुना शर्मा, गोविन्द थारु, अर्घाखाचीका जनक भुसाल, बर्दियाका महेश दहित, कविराम सुनार, दीपक खनाल, रोल्पाका रमेश थापालगायत पनि केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिने चर्चामा रहेका छन् । प्यूठानका सुशान्त वैदिक, माधव भण्डारीलगायत चुनावी मैदानमा उत्रिने तरखरमा रहेको महाधिवेशन प्रतिनिधि घिमिरेले बताए ।

केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा उत्रिन लागेका गोपाल घिमिरे प्रदेशको सभापति पदमा चुनावी मैदानमा रहेका थिए । पहिलो चरणको मतदानमा आवश्यक बहुमत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदानको तयारी भइरहेका बखत उनले अर्का उम्मेदवारलाई समर्थन गर्दै सहमतिको बाटो अवलम्बन गरेका थिए ।

लुम्बिनीबाट केन्द्रीय सदस्यका लागि करिब एक दर्जन सांसद चुनावी मैदानमा भिड्न अग्रसरता देखाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा चार हजार २११ प्रतिनिधिमध्ये लुम्बिनीबाट ६३६ रहेका छन् ।

रास्वपाले सार्वजनिक गरेको नामावलीअनुसार लुम्बिनीबाट ६३६, कोशीबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७४९, गण्डकीबाट ५५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय