महाधिवेशनमा आएका रवि र बालेन परिवारसहित होटल लटौलीमा, स्वर्णिम वनवासमा
nepalpress.com · Sun Jun 21 14:28:08 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएपछि रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह एउटै होटलमा बसेका छन् । उनीहरु चितवनको लटौली सेञ्चुरी रिसोर्टमा बास बसेका हुन् ।
परिवारसहित आएका दुबै नेताको बसाइ महाधिवेशन अवधिभर लटौली होटलमा नै हुने चितवनको सुरक्षा स्रोतले जानकारी दिएको छ । आज महाधिवेशनको उद्घाटन सत्र समापन भएपछि प्रधानमन्त्री शाह, सभापति लामिछाने र प्रधानमन्त्रीको मुख्य सल्लाहकार कुमार बेन लटौली रिसोर्ट पुगेका थिए । सुरक्षा स्रोतका अनुसार आज साँझ ७ बज्न २० मिनेटअघि उनीहरु रिसोर्ट प्रवेश गरेका छन् ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै रिसोर्टका सबै कोठा चार दिनका लागि बुक गरिएको बताइएपनि सुरक्षा स्रोतले भने यो विषयलाई पुष्टि गरेको छैन । केही महिनाअघि मात्रै चितवनको कालिका नगरपालिका ९ मा पर्ने शक्तिखोरमा खुलेको यो होटल महङ्गो होटलमा गनिन्छ । होटलको वेवपेजमा उल्लेख भएअनुसार परिवार बस्न मिल्ने बेडको एक दिनको न्यूनतम शुल्क एक सय ५५ अमेरिकी डलर पर्छ ।
रिसोर्टमा सभापति लामिछाने, प्रधानमन्त्री शाह र प्रधानमन्त्रीका सल्लाहकार बेनका लागि समेत गरेर भिआइपी कोठा तयार गरी बस्ने प्रबन्ध गरिएको बुझिएको छ । रिसोर्टमा १९ वटा कोठा रहे पनि अहिले रास्वपाका नेता तथा सरकारका उच्च नेतृत्व रहने भएकोले अन्य पाहुना नराखिएको सुरक्षा स्रोतले जनाएको छ ।
अर्थमन्त्री समेत रहेका स्वर्णिम वाग्ले भने सौराहास्थित वनबास रिसोर्टमा बसेका छन् । केन्द्रीय समिति बैठकमा चितवन आएका उनी हिजो पनि त्यही रिसोर्टमा बसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)