प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
ratopati.com · Sun Jun 21 14:31:51 GMT 2026

सिरहा । सिरहा प्रहरीले गोली प्रहार गरेर आइतबार दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा आइतबार प्रहरीले चलाएको गोली लागेर एक जना लागुऔषध कारोबारी घाइते भएका छन्।
प्रहरीको गोली लागि लागुऔषध कारोबारी भारत विहारको मधुवनी जिल्ला पौदमहा ग्रामपञ्चायत २ जोगियाका छोटु भन्ने रञ्जित कुमार पासवान र अर्का १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो। पासवान घाइते भएका छन्।
उनीहरूको साथबाट प्लास्टिकसहित १०१ ग्राम ६ मिलग्राम प्रतिबन्धित लागु पदार्थ ब्राउनसुगरसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए।
भारतीय सीमा नजिक सिरहा नगरापालिका २१ लगडीगोठमा लागुऔषध कारोबार भइरहेको भन्ने जानकारी पाएपछि पुगेका प्रहरीमाथि उनीहरुले ढुङ्गामुढा गरेका थिए।
चार–पाँच जनाको समूहमा रहेका उनीहरुले तीन चार जना मात्र प्रहरी देखेपछि ढुङ्गामुढा गरेको प्रमुख एसपी पाठकले जानकारी दिए।
एसपी पाठकले भने, ‘प्रहरी थोरै देखेपछि उनीहरुले अट्याक गरे, प्रहरीले अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेपछि उनीहरू भाग्न खोजे।’
प्रहरीले नियन्त्रणमा लिन घडामुनि गोली प्रहार गरेको हो । गोली लागेका पासवानको उपचार भइरहेको छ।
सोही क्रममा प्रहरी जवान हृदयनारायण ठाकुर घाइते भएका छन्। उनको पनि उपचार भइरहेको छ।
पासवानले अहिलेसम्म नेपालमा १० देखि १२ केजी ब्राउनसुगर सप्लाई(निर्यात) गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी