आँप महोत्सव सम्पन्न, किसान उत्साहित
lokaantar.com

किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको चित्रपुरमा आयोजित तीनदिने आँप मेला महोत्सव सम्पन्न भएको छ।
महोत्तरी र धनुषाका आँप उत्पादक किसान सहभागी महोत्सवमा प्रदेश सरकारका प्रतिनिधि, व्यापारी, होटल व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागी किसानले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उत्पादनले उपयुक्त बजार पाउने विश्वास व्यक्त गरेका छन्।
आयोजकका अनुसार महोत्सवमा ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने १० हजारभन्दा बढीले अवलोकन गरेका छन्। विभिन्न जातका आँप, अचार तथा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री गरिएको थियो।
आयोजक संस्था चित्रपुर म्याङ्गो एग्रो टुरिज्म इनिसिएटिभका अध्यक्ष प्रदीप महतोले महोत्सवले आँपको बजारीकरण, खेती विस्तार र आँप पर्यटनको सम्भावना उजागर गरेको बताए। प्रदेश सरकारले आँप प्रशोधन, भण्डारण र चिस्यानघर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।
महोत्सवले स्थानीय आँपको स्वाद र पहिचानलाई व्यापक रूपमा प्रचार गर्न सफल भएको आयोजकको भनाइ छ।