मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झ्यालढोका नाप्ने बहानामा चोरी, गरगहनासहित समातिए दुई जना

barnanmedia.com · Sun Jun 21 15:23:41 GMT 2026

पोखरा महानगरपालिका-१५, मेरिगोल्डस्थित एक घरमा झ्यालढोका नाप्ने बहानामा प्रवेश गरी सुनका गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत जेठ २४ गते दिउँसो करिब २ः१८ बजे मनिषा थापाको घरमा उनकी बालिका छोरी मात्र रहेको अवस्थामा एक व्यक्ति ‘झ्यालढोका बनाउनका लागि नाप्न आएको’ भन्दै घरभित्र प्रवेश गरेका थिए।

त्यसक्रममा उनले घरको कोठाभित्र रहेको दराज तोडफोड गरी विभिन्न सुनका गरगहना तथा नगद १३ हजार रुपैयाँ चोरी गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले प्राविधिक अनुसन्धानका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान गरेको थियो।

अनुसन्धानका क्रममा जिल्ला सर्लाही लालबन्दी नगरपालिका-१७ स्थायी घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-९, शिवनगर टोल बस्दै आएका ३५ वर्षीय भुवनबहादुर साह शंकरको संलग्नता खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले असार ४ गते काठमाडौँस्थित प्रहरी प्रभाग काँडाघारीको सहयोगमा उनलाई पक्राउ गरेको हो। पक्राउ परेका साहको कोठाबाट चोरीका विभिन्न सामान बरामद गरिएको छ।

थप अनुसन्धानका क्रममा साहले चोरी गरिएका सुनका बाला ६ लाख ५० हजार रुपैयाँमा बिक्री गरेको खुलाएपछि ती गहना खरिद गर्ने ३५ वर्षीय बिराज सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

सुनार जिल्ला सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ का स्थायी बासिन्दा भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-७, मूलपानीमा बस्दै आएका छन्।

प्रहरीले उनीहरूबाट सुनजस्तो देखिने पहेँलो धातुका तिलहरी, चन्द्रमा, झुम्का, औँठी, मुन्द्रा, चाँदीजस्तो देखिने बाला, सिक्का र सिक्रीसहित नगद ८१ हजार ५०० रुपैयाँ तथा घटनाका बेला प्रयोग गरिएको ज्याकेट र पाइन्ट बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय