मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती नदीको बीचमा अलपत्र परेका १४ जनाको उद्धार

shilapatra.com · Sun Jun 21 15:36:39 GMT 2026

रौतहटको दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा बागमती नदीको बीच भागमा फसेका १४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार अपराह्न करिब ३ः४० बजे मुङको दाल टिपेर घर फर्कने क्रममा अचानक बाढी आएपछि ११ महिला र ३ बालिका गरी १४ जना बीच नदीमा फसेका थिए ।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहतका कार्यालयबाट सशस्त्र प्रहरी वरिष्ठ निरीक्षक यज्ञबहादुर योञ्जनको कमाण्डमा विपद् व्यवस्थापन (डीएम) टोली र रबर बोटसहित उद्धार कार्यमा खटिएको थियो ।

टोलीले साँझ करिब ५ बजे रबर बोटको प्रयोग गरी नदीको बीच भागमा फसेका सबै १४ जनालाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीले जानकारी दिएका छन् ।

अचानक नदीमा पानीको बहाव बढेपछि उनीहरू टापुमा फसेका थिए । तर समयमै उद्धार टोली पुगेर सुरक्षित रूपमा उद्धार गरेपछि सबै जना घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३

२१:२१

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)