‘जाइन्ट किलर’ साउदीको चुनौती, दबाबमा स्पेन
ratopati.com · Sun Jun 21 15:47:30 GMT 2026

काठमाडौँ । सन् २०२२ को फिफा विश्वकपमा पहिलो खेलमै अर्जेन्टिनालाई २–१ ले स्तब्ध बनाउँदै विश्व फुटबललाई चकित पारेको साउदी अरेबियाले २०२६ विश्वकपमा पनि आफूलाई कमजोर आँक्न नहुने सन्देश दिएको छ ।
समूह ‘एच’ अन्तर्गत आफ्नो पहिलो खेलमा साउदीले बलियो टोली उरुग्वेलाई १–१ को बराबरीमा रोक्दै फेरि एकपटक चर्चा बटुल्न सफल भयो ।
आइतबार राति हुने स्पेनविरुद्धको खेलअघि साउदी उच्च मनोबलमा छ । उरुग्वेजस्तो अनुभवी टोलीविरुद्ध अंक खोस्नु मात्र होइन, पछिल्ला वर्षहरूमा साउदी फुटबलले गरेको प्रगतिले पनि टोलीलाई थप आत्मविश्वास दिएको छ ।
विशेषगरी घरेलु साउदी प्रो लिगमा विश्वस्तरीय खेलाडी र प्रशिक्षकहरूको आगमनले स्थानीय खेलाडीहरूको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको विश्लेषण गरिन्छ । युरोपका चर्चित स्टारहरू भित्रिएपछि लिगको प्रतिस्पर्धात्मक स्तर बढेको छ भने राष्ट्रिय टोलीका खेलाडीहरूले पनि त्यसको प्रत्यक्ष लाभ लिइरहेका छन् ।
यता, स्पेन भने अपेक्षाअनुसारको सुरुआत गर्न असफल भएको छ । विश्वकपको पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनमाथि दबाब बढेको छ ।
बल नियन्त्रणमा प्रभुत्व जमाए पनि अवसरलाई गोलमा परिणत गर्न नसक्दा स्पेनले बहुमूल्य दुई अंक गुमाएको थियो ।
एक समय विश्व फुटबलको सबैभन्दा आकर्षक र सफल टोलीमध्ये गनिने स्पेन अहिले पनि प्रतिभाशाली खेलाडीहरूले भरिपूर्ण छ । तर केप भर्डेविरुद्ध देखिएको फिनिसिङ समस्याले प्रशिक्षक र समर्थक दुवैलाई चिन्तित बनाएको छ । साउदीविरुद्ध अंक गुमेमा स्पेनको नकआउट चरण यात्रा जटिल बन्न सक्छ ।
साउदीका लागि यो खेल इतिहास र वर्तमान दुवैलाई जोड्ने अवसर हुनेछ । २०२२ मा अर्जेन्टिनालाई हराएर विश्व फुटबलमा सनसनी मच्चाएको टोली अहिले फेरि अर्को पूर्वविश्व विजेता स्पेनलाई चुनौती दिन तयार छ । सुदृढ रक्षापंक्ति, तीव्र काउन्टर आक्रमण र बढ्दो आत्मविश्वास साउदीका मुख्य हतियार हुन् ।
कागजमा स्पेन अझै पनि स्पष्ट रूपमा बलियो टोली मानिन्छ । तर विश्वकपमा नामभन्दा प्रदर्शनले नतिजा निर्धारण गर्ने भएकाले साउदीलाई हल्का रूपमा लिनु स्पेनका लागि महँगो पर्न सक्छ । उरुग्वेसँग अंक बाँडेको साउदी र केप भर्डेसँग गोल गर्न नसकेको स्पेनबिचको भिडन्त समूह ‘एच’को समीकरण बदल्ने महत्त्वपूर्ण खेलका रूपमा हेरिएको छ ।
स्पेन आइतबार राति पौने १० बजे साउदीविरुद्ध जित निकाल्दै आफूलाई पुनः लयमा फर्काउन चाहन्छ भने साउदी अर्को अप्रत्याशित नतिजामार्फत विश्व फुटबलमा आफ्नो उदयलाई थप बलियो बनाउन चाहन्छ ।
कस्तो छ यसपालि विश्वकप जित्ने स्पेनको अवस्था ?
तथ्यांक विश्लेषक संस्था अप्टाको सुपरकम्प्युटरले स्पेनलाई साउदी अरेबियाविरुद्धको खेलमा स्पष्ट रूपमा बलियो दाबेदार मानेको छ । अप्टाका अनुसार आज स्पेनको जितको सम्भावना ८६ दशमलव ७ प्रतिशत रहेको छ भने साउदी अरेबियाको जितको सम्भावना केवल ४ दशमलव ३ प्रतिशत छ । खेल बराबरीमा टुंगिने सम्भावना ९ प्रतिशत रहेको अनुमान गरिएको छ ।
यद्यपि विश्वकपअघि उपाधिको प्रमुख दाबेदार मानिएको स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि उसको सम्भावना केही घटेको हो । अप्टाको पछिल्लो प्रक्षेपणअनुसार स्पेन उपाधि दाबेदारहरूको सूचीमा चौथो स्थानमा झरेको छ । फ्रान्स १५ दशमलव ४३ प्रतिशत सम्भावनासहित प्रतियोगिताको प्रमुख दाबेदार बनेको छ ।
स्पेनको विश्वकप जित्ने सम्भावना हाल १२ दशमलव ०४ प्रतिशत रहेको अप्टाको सुपरकम्प्युटरले जनाएको छ ।
उरुग्वेविरुद्धको खेलमा साउदी अरेबियाले एक अंक जोगाउन गोलरक्षक मोहम्मद अलोवाइसको उत्कृष्ट प्रदर्शनमा धेरै भर पर्नुपरेको थियो । उनको महत्वपूर्ण बचाउका कारण साउदीले बहुमूल्य अंक सुरक्षित गर्न सफल भएको थियो ।
उक्त नतिजाले साउदीलाई सन् १९९४ मा अमेरिकाले विश्वकप आयोजना गरेयता पहिलोपटक नकआउट चरण पुग्ने आशा बलियो बनाएको छ ।
साउदीका मुख्य प्रशिक्षक जर्जियस डोनिसले उरुग्वेसँगको खेलपछि भनेका थिए, 'खेलको अन्त्यतिर हामी निकै थाकेका थियौँ । तर यस्तो स्तरको प्रतिद्वन्द्वीविरुद्ध खेल्दै एक अंक हासिल गर्नु हाम्रो लागि सकारात्मक नतिजा हो ।'
उनले थपे, 'मेरा खेलाडीहरूको जुझारुपन र समर्पण मनपर्छ । तर मलाई लाग्छ, हामीसँग अझ राम्रो खेल प्रदर्शन गर्ने गुणस्तर पनि छ ।'
अल जजिरालगायतबाट साभार
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)