त्रिदिवसीय योग विज्ञान शिविर सम्पन्न
nepalpress.com · Sun Jun 21 15:51:48 GMT 2026

कैलाली । अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा कैलालीको अत्तरियास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालयमा योग दिवस मनाइएको छ। दिवसको अवसरमा त्रिदिवसीय योग विज्ञान शिविर आइतबार विशेष समारोहका बीच सम्पन्न गरिएको हो ।
पतञ्जली योगपीठ नेपाल र नेपाल–भारत महिला मैत्री समाजको आयोजनामा तथा सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाको समन्वयमा आयोजित शिविर असार ५ गतेदेखि सञ्चालन भएको थियो। बाहिनी मुख्यालयको खेलकुद मैदानमा बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिएको शिविरमा सशस्त्र प्रहरी कर्मचारी, स्थानीय नागरिक तथा योगप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
शिविरमा योगाचार्य इन्द्रदेव भट्टराईले योगको महत्व, नियमित अभ्यासका फाइदा, शारीरिक तथा मानसिक स्वास्थ्यमा योगको भूमिका, प्राणायाम, ध्यान तथा विभिन्न योगासनहरूको व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए।
समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान, धनगढीका कुलपति रामचन्द्र नेपालले वर्तमान व्यस्त र तनावपूर्ण जीवनशैलीमा शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न योग अपरिहार्य माध्यम भएको बताए। उनले स्वस्थ र अनुशासित जीवनका लागि योगलाई दैनिक जीवनमा समावेश गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष एवं पूर्वमन्त्री चन्द्रा चौधरीले त्रिदिवसीय योग विज्ञान शिविरले नेपाल–भारतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पु¥याएको उल्लेख गर्दै महिलाहरूमा स्वास्थ्य तथा योगप्रतिको चेतना अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी भएको बताए।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग विजय सुवेदीले आधुनिक जीवनशैलीका कारण बढ्दै गइरहेका शारीरिक तथा मानसिक समस्याहरूको समाधानका लागि योग प्रभावकारी माध्यम भएको बताए। उनले योग केवल व्यायाम मात्र नभई स्वस्थ, सन्तुलित र सकारात्मक जीवन जिउने कला भएको धारणा व्यक्त गर्दै सबैलाई दैनिक योग अभ्यास गर्न आग्रह गरे।
आयोजक संस्थाहरूले अन्तर्राष्ट्रिय योग दिवसको सन्देश जनस्तरसम्म पु¥याई योगप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिएका छन्। योगमार्फत स्वस्थ समाज निर्माण, आपसी सद्भाव प्रवद्र्धन तथा नेपाल–भारतबीचको सामाजिक एवं सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउन कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ।
सुरक्षा निकाय र सामाजिक संघसंस्थाबीचको उदाहरणीय सहकार्यका रूपमा हेरिएको उक्त कार्यक्रमको स्थानीयस्तरमा समेत उच्च प्रशंसा गरिएको छ। आयोजकका अनुसार त्रिदिवसीय योग विज्ञान शिविर पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)