बेलायतका प्रधानमन्त्री स्टार्मर राजीनामा दिने तयारीमा
nepalnews.com · Sun Jun 21 15:59:52 GMT 2026

काठमाडौँ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरलाई पद छोड्न राजनीतिक दबाब बढेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। द अब्जर्भर र द गार्डियन ले जुन २१ मा जारी उनीबारे रिपोर्टमा उनले सोमबार राजीनामा दिने घोषणा गर्ने अपेक्षा गरिएको छ।
द अब्जर्भरले स्टार्मर निकटस्थ लेबर पार्टीका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘प्रधानमन्त्री स्टार्मरले ‘सम्मान कायम राख्दै प्रधानमन्त्री कार्यालयमा खालीपन नछोड्ने तर सावधानीपूर्वक तर्क र ढिलो प्रक्रिया अघि बढाउने’ योजना बनाउनुभएको छ।
ती अधिकारीले थपे, ‘स्टार्मरले वास्तविकता स्वीकार गरेको देखिनुहुन्छ। आफ्नो पदमा रहँदा ‘अराजकता’ रोक्न नसकिने भएकाले अब एउटै विकल्प बाँकी रहेको प्रधानमन्त्री स्टार्मर सोचेको हुनसक्ने देखिएको छ। तर घोषणा गरिहाल्न देश र पार्टीप्रतिको जिम्मेवारीले अलमल गरिरहनुभएको हुनसक्छ।’
स्टार्मरमाथि असफल आर्थिक नीति र स्थानीय निर्वाचनमा भारी पराजयका कारण राजीनामा दिने दबाब बढ्दै गएको थियो।
यसका साथै, यौन अपराधी जेफ्री एपस्टिनसँग निकट सम्बन्ध रहेको आरोप लागेका पूर्ववरिष्ठ सल्लाहकार पिटर म्यान्डेल्सनलाई अमेरिकाको राजदूतमा नियुक्त गरेको कारणले संकटलाई थप बढाएको छ।
स्टार्मरको समर्थन आधार ‘आफन्त र निकटतम साथीहरूको सानो घेरा’ मा सीमित भएको बताइएको छ।
क्याबिनेटको रक्षा नीतिको मुख्य स्तम्भ मानिने बेलायतका रक्षा मन्त्री जोन हिलील दीर्घकालीन रक्षा लगानी योजना घोषणा गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेपछि जुन ११ मा राजीनामा दिएका थिए।
उनले भनेका थिए, ‘प्रधानमन्त्रीसँग राष्ट्रिय रक्षाका लागि आवश्यक स्रोत उपलब्ध गराउने क्षमता थिएन र अर्थमन्त्रालयले पनि कुनै इच्छा देखाएन।’ यो आलोचनासँगै विश्वासपात्र मानिएका मन्त्रीको राजिनामाले स्टार्मरको क्याबिनेटको स्थिरतालाई ठूलो धक्का दिएको छ।
ग्रेटर म्यान्चेस्टरका मेयर र चर्चित उम्मेदवार एन्डी बर्नह्याम ले १९ जुनमा आफ्नो क्षेत्रको उपनिर्वाचनमा अप्रत्याशित भारी जित हासिल गरेपछि लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब तीव्र बनेको छ। उनले ५४.८५ मत प्राप्त गर्दै रिफर्म यूके लाई ठूलो अन्तरले हराएका थिए।
द अब्जर्भरका अनुसार क्याबिनेट तथा प्रधानमन्त्री कार्यालयका निकट सल्लाहकारहरूसँगको छलफलपछि स्टार्मरले आफ्नो पद टिकाउने शक्ति अब नभएको निष्कर्ष निकालेका बताउने गरिएको छ।
यसअघि सरकारका अधिकारीहरूले राजीनामाको अफवाहलाई अस्वीकार गरेका थिए, तर डेली टेलिग्राफले एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘स्टार्मरलाई खेल सकिएको थाहा छ र उहाँ आफ्नो पदलाई कसरी सम्मानजनक बनाउने भन्ने सोचिरहनुभएको छ।’
यदि स्टार्मरले राजीनामा दिए भने बेलायतमा १० वर्षमा छैटौँ प्रधानमन्त्रीको राजीनामा आउने छ। बेलायती कानुनले आम निर्वाचनबिना नै प्रधानमन्त्री फेर्न सकिने भए पनि बारम्बार नेतृत्व परिवर्तनले देशमा राजनीतिक अस्थिरता र संकटको चिन्ता बढ्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)