विश्वकप फुटबल: पहिलो हाफमै स्पेनको दबदबा, साउदी अरेबियाविरुद्ध ३-० को अग्रता
lokaantar.com

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' को खेलमा स्पेनले साउदी अरेबियाविरुद्ध पहिलो हाफमा ३-० को सहज अग्रता लिएको छ। एटलान्टा स्टेडियममा जारी खेलमा स्पेनको आक्रामक प्रदर्शनका अगाडि साउदी अरेबिया निरिह देखिएको छ।
खेलको १०औँ मिनेटमै युवा स्टार लामिन यामलले गोल गर्दै स्पेनलाई १-० को अग्रता दिलाएका थिए। मिकेल ओयार्जाबलको सटिक पासमा गोल गर्दै यामल १९ वर्षको उमेर अगावै विश्वकपमा गोल गर्ने इतिहासकै सातौँ खेलाडी बनेका छन्।
यामलको गोलपछि स्पेन झन् आक्रामक बन्यो। पहिलो गोलका लागि पास मिलाएका मिकेल ओयार्जाबल आफैँले खेलको २१औँ र २४औँ मिनेटमा दुई गोल थपे। २१औँ मिनेटमा एमेरिक लापोर्टेको पासमा दोस्रो गोल गरेका उनले त्यसको तीन मिनेट नबित्दै ड्यानी ओल्मोको उत्कृष्ट पासमा स्पेनको अग्रता ३-० पुर्याए।
पहिलो खेलमा केप भर्डविरुद्ध प्रभाव जमाउन नसकेका ओयार्जाबलले आजको खेलमा भने उत्कृष्ट पुनरागमन गरेका छन्।
खेलको ३६औँ मिनेटमा साउदीका गोलकिपर मोहम्मद अल ओवेसको एउटा ठूलो गल्तीका कारण ओयार्जाबलले आफ्नो ह्याट्रिक पूरा गर्ने अवसर पाएका थिए । ओवेसले झुक्किएर सिधै ओयार्जाबललाई बल दिएका थिए, तर ओयार्जाबलको प्रहार क्रसबारमा लागेर बाहिरिएपछि उनी ह्याट्रिकबाट चुके।
पहिलो हाफभरि स्पेनले मैदानमा ७० प्रतिशतभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। साउदी अरेबियाका कप्तान सलेम अल दौसारी र फरास अल्ब्रिकानले स्पेनको उच्च डिफेन्स लाइनलाई तोड्न निकै सङ्घर्ष गरे पनि सफल हुन सकेनन्। स्पेनले साउदीलाई काउन्टर अट्याकको कुनै पनि मौका दिएको छैन।
यसअघि आफ्नो पहिलो खेलमा केप भर्डसँग गोलरहित बराबरी खेलेको स्पेन आज निकै परिष्कृत देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)