नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व शिक्षाराज्यमन्त्री राजेन्द्र खरेलको निधन
newsofnepal.com · Sun Jun 21 17:28:01 GMT 2026

काभ्रे।
काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललाई पितृशोक परेको छ। उहाँका पिता, नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व शिक्षाराज्यमन्त्री राजेन्द्र खरेल को ८० वर्षको उमेरमा आइतबार निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत रहनुभएका खरेलको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोकमा पिता सुब्बा देवीप्रसाद खरेल तथा माता मुकुन्दकुमारी खरेलको माइलो सन्तानका रूपमा जन्मिनुभएका खरेल नेपाली कांग्रेसका निष्ठावान, आदर्शवान तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रूपमा परिचित हुनुहुन्थ्यो।
उहाँको राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु भएको थियो। वि.सं. २०२५–२०२६ सालतिर तत्कालीन नेशनल कलेज (हाल शंकरदेव कलेज) मा अध्ययनरत रहँदा उहाँले नेपाल विद्यार्थी संघको इकाइ गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। त्यसबेला अर्थशास्त्री विश्वम्भर प्याकुरेल अध्यक्ष रहँदा खरेल सचिवको जिम्मेवारीमा रहनुभएको थियो।
लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनमा उहाँ अग्रपङ्क्तिमा सक्रिय रहनुभयो। वि.सं. २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ सालको जनआन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको थियो। नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेकै कारण उहाँले विभिन्न समयमा गरी झण्डै नौ वर्ष जेल जीवन बिताउनुभएको थियो। जेल जीवनका क्रममा समेत उहाँ अभावग्रस्त राजनीतिक बन्दीहरूका सहयोगी र सहाराका रूपमा चिनिनुहुन्थ्यो।
खरेल नेपाली कांग्रेसका संस्थापक पुस्ताका शीर्ष नेताहरू विश्वेश्वरप्रसाद (बी.पी.) कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विश्वासपात्र नेतामध्ये एक मानिनुहुन्थ्यो। उहाँले पार्टी संगठन निर्माण, लोकतान्त्रिक मूल्यको संरक्षण तथा कार्यकर्ताको राजनीतिक प्रशिक्षणमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।
काभ्रे कांग्रेसको इतिहासमा राजेन्द्र खरेलको योगदान विशेष रूपमा स्मरणीय छ। उहाँ पटक–पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएको थियो। वि.सं. २०५६ सालको आमनिर्वाचनमा काभ्रे क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उहाँले शिक्षा राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो। पछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारीसमेत वहन गर्नुभयो।
शिक्षा राज्यमन्त्रीका रूपमा उहाँले काभ्रेको शिक्षा क्षेत्रमा ऐतिहासिक योगदान पुर्याउनुभएको मानिन्छ। उहाँकै पहलमा काभ्रेमा प्राथमिक शिक्षा परियोजना लागू गरिएको थियो। उक्त परियोजनामार्फत भवन तथा भौतिक पूर्वाधार अभावमा रहेका धेरै विद्यालयमा नयाँ संरचना निर्माण भए। प्राथमिक तहको शिक्षामा पहुँच विस्तार हुनुका साथै गुणस्तर अभिवृद्धिमा पनि महत्वपूर्ण उपलब्धि हासिल भएको थियो।
कार्यकारी अधिकारसहित शिक्षा राज्यमन्त्री रहँदा उहाँले देशभर करिब एक हजार तीन सय शिक्षक दरबन्दी वितरण गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। काभ्रे जिल्लामा मात्रै करिब २५० शिक्षक दरबन्दी थप गराउन सफल हुनुभएको बताइन्छ। त्यसबाट विद्यालय सञ्चालन सहज हुनुका साथै धेरै विद्यालयले उच्च माध्यमिक तहसम्म स्तरोन्नति हुने अवसर प्राप्त गरेका थिए।
उहाँका सुपुत्र महेश खरेल हाल पाँचखाल नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का क्षेत्रीय सभापति हुनुहुन्छ।
निष्ठा, मूल्य, सिद्धान्त र लोकतान्त्रिक आदर्शको राजनीतिमा विश्वास राख्ने राजेन्द्र खरेलको निधनले नेपाली कांग्रेस, विशेषगरी काभ्रे कांग्रेसलाई अपूरणीय क्षति पुगेको राजनीतिक वृत्तले जनाएको छ। उहाँको योगदान, संघर्ष र राजनीतिक विरासत नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा सदैव स्मरणीय रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)