जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
ratopati.com · Sun Jun 21 17:29:29 GMT 2026

काठमाडौँ । जनकपुरमा सञ्चालित जानकी मेडिकल कलेजका सञ्चालक ओम प्रसाद पाण्डेमाथीको अनुसन्धान प्रहरीले पुरा गरेको छ । जेठ २० मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पाण्डेलाई धनुषाबाट पक्राउ गरेको थियो ।
राम जानकी हेल्थ फाउन्डेसनको सञ्चालक पाण्डेले सेल कम्पनी र कृत्रिम व्यवसाय खडा गरेर प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । पाण्डे सहितको समूहले महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनरी साइन्सेज प्रालि’ नामक सेल कम्पनी खडा गरेर कर्जा लिएर सो रकम दुरुपयोग गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रहरीले जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे, प्रभु बैकका तत्कालीन सिइओ अशोक शेरचन, डेपुटी सिइओ मनिराम पोखरेल, कर्जा प्रमुख ऋवश श्रेष्ठ, मावन स्रोत संसाधन विभागमा कार्यरत रश्मी श्रेष्ठ, जानकी मेडिकल कलेज सञ्चालकहरू हरिमान लामा, धन बहादुर शेरचन, महावीर तामाङ, सुरेश कुमारी तिवारी र हरिकृष्ण भट्टचन सहित १२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।
कर्जा दुरुपयोग गरेको घटनामा सीआईबीले आरोपीहरू विरुद्ध छुट्टाछुट्टै ३ वटा मुद्दामा अभियोग दायर गर्न राय दिएको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गको कसुुरमा प्रहरीले २० करोड १७ लाख बिगो मागवादी लिन राय दिएको छ ।
बैंकलाई ब्याज नतिरेर हानी गरेको र बाफियाको दफा १०३ अनुसारको कसुरमा १ अर्ब २४ करोड मागदावी लिन प्रहरीले सरकारी वकिललाई राय दिएको छ ।
तेस्रो मुद्दामा आरोपीहरूमाथि ७२ करोड ७७ लाख बिगो कायम गर्न प्रहरीले राय दिएको छ । अनुसन्धान पुरा गरेर काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले रातोपाटीलाई बताए ।
प्रभु ग्रुपका सञ्चालक देवी प्रकाश भट्टचनलाई पनि सीआईबीले प्रतिवादी बनाउन राय दिएको छ । भट्टचनको हकमा मात्रै प्रहरीले १ अर्ब २८ करोड २६ लाख बिगो कामय गरेर अभियोग दायर गर्न राय दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)