उद्घाटन भाषणमा रवि र बालेनले दिएको सन्देश– सरकार बालेनले चलाउने, पार्टी रविले!
setopati.com · Sun Jun 21 18:00:18 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले धेरैको मनमा रहेको एउटा शंका चिर्ने कोसिस गरेका छन्।
रास्वपाभित्र बालेन समूह मिसिएपछि पार्टी दुई गुटमा विभाजित हुने र दुई शीर्ष नेताको टकरावले पार्टी र सरकार सञ्चालनमा अवरोध आउन सक्ने आशंका धेरैमा छ। सर्वसाधारण मात्र होइन, कतिपय रास्वपा कार्यकर्ताहरूलाई पनि यस्तो होला कि भन्ने डर छ।
यही डर र शंकाबीच सभापति लामिछाने र वरिष्ठ नेता शाहले महाधिवेशन उद्घाटन सत्रमा सहभागी आफ्ना नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई एउटा स्पष्ट सन्देश दिएका छन्।
दुई शीर्ष नेताले आफ्नो मन्तव्यबाट दिएको त्यो सन्देश हो — सरकार बालेनले चलाउने, पार्टी रविले। दुवैले एकअर्काको काममा भाँजो नहाल्ने!
प्रधानमन्त्री बालेनले आफ्नो मन्तव्यमा पार्टीमा दुई गुट हुने आशंकालाई अस्वीकार गर्दै मतदान हुँदा गुट-उपगुट नबनाउन सबैलाई सचेत गराएका छन्।
'पार्टीको चुनाव हुँदै छ। यहाँ महाधिवेश प्रतिनिधि हुनुहुन्छ होला। कोही केन्द्रीय सदस्य उठ्छु भनेर बस्नुभएको होला, कोही पदाधिकारी उठ्छु भनेर बस्नुभएको होला। म एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने — राम्रो नेता बन्न, राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था, माया जित्नुपर्छ। कुनै एउटा समूहको मायाले हुँदैन। त्यसैले समूह बनाउनतिर नलाग्नुहोला,' उनले भने, 'त्यस्तो बीउ अहिले नै नरोप्नु, जुन भोलि रूख बनेर बीचबाटै फाँड्नु परोस्।'
गुट-उपगुटले पार्टीलाई कसरी बिगार्छ भन्ने कुरा पुराना दलबाट सिक्नुपर्ने बालेनको भनाइ थियो।
महाधिवेशन क्रममा चुनाव भयो र त्यसमा कोही पराजित भए पनि हतास नहुन आग्रह गर्दै उनले भने, 'चिन्ता लिनुपर्दैन। यो गठनबन्धको सरकार होइन, एकल पार्टीको सरकार हो। एकल पार्टीको सरकार हुँदा हरेक मन्त्री, हरेक सांसद, हरेक पदाधिकारी, हरेक केन्द्रीय सदस्य र हरेक समर्थक पनि प्रधानमन्त्री हो। केन्द्रीय सदस्य भएको भए यस्तो गर्थेँ, पदाधिकारी भएको भए यस्तो गर्थेँ भन्नुहुन्छ भने त्यो योजना लिएर आउनुस्, हामी पूरा गर्छौं।'
उनले पार्टीलाई एकै ठाउँमा राख्नुपर्छ र एक बनाउनुपर्छ भन्दै आफ्नो भाषण टुंगाए।
वरिष्ठ नेता बालेनको मन्तव्यपछि उद्घाटन सत्रको अन्तिम वक्ताका रूपमा बोल्ने पालो सभापति रवि लामिछानेको थियो।
उनले पनि बालेनको नेतृत्वमा सरकार सञ्चालन गर्नेबारे चुनावअघि नै सहमति भइसकेको उल्लेख गरे।
'सरकार सञ्चालन गर्न रास्वपाले चुनावअघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्याएको छ। अब भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन शाहको,' लामिछानेले भने, 'झुक्किएर बल मतिर आएछ भने पनि बालेनको खुट्टामा पास गर्ने जिम्मा मेरो।'
लामिछानले आफ्नो खुट्टामा आएको सत्ताको बल बालेनतिरै पास गर्ने कुरा गर्दा प्रधानमन्त्री बालेन खुलेर मुस्कुराएका थिए। रास्वपा सांसद तथा कार्यकर्ताहरूले पनि उठेर सम्मान प्रकट गरेका थिए।
लामिछानले अगाडि थपे, 'यहाँ मुख मिठ्याउनेहरू धेरै छन्। चुग्ली लगाउनेहरू पनि धेरै छन्। म तिनलाई जबाफ दिन बोलिरहेको छैन। म त इतिहासलाई जबाफ दिन खडा भएर बोलिरहेको छु। किनभने, आजको दिन त बितेर जानेछ, भोलि फेरि सन्ततिहरूले सोध्ने छन् — इतिहासले तिमीहरूलाई पहिलो महाधिवेशनभन्दा अगाडि यति ठूलो जनमत दिएको थियो। संसारमा पहिलो महाधिवेशन हुनुभन्दा अगाडि कुनै पार्टीलाई दुई-तिहाइ जनमत दिएको मलाई सम्झना छैन। आज जन्मेकाहरूले मात्र होइन, भोलि जन्मनेहरूले पनि मलाई र बालेनजीलाई प्रश्न गर्नेछन्, यो मौका तिमीहरूले किन गुमाउन दियौ? हामी त्यो प्रश्न सधैंका लागि भाँच्न चाहन्छौं। यो अवसरलाई सदुपयोग गर्न चाहन्छौं।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)