८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
ratopati.com · Sun Jun 21 18:43:37 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ को सुरुवाती १० दिनमै आत्मघाती गोलको अनपेक्षित बाढी आएको छ । आइतबार मर्सिडीज–बेन्ज स्टेडियममा स्पेन र साउदी अरेबियाबीचको खेलमा साउदीका डिफेन्डर हसन अल्तामबक्तिले ४९ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेसँगै जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ८ पुगेको छ । यो सङ्ख्या विश्वकप इतिहासमा कुनै पनि एउटै संस्करणमा भएको दोस्रो सर्वाधिक आत्मघाती गोल हो । यसअघि सन् २०१८ को रुस विश्वकपमा सबैभन्दा धेरै १२ वटा आत्मघाती गोल भएको कीर्तिमान छ । यस पटक टोली सङ्ख्या ४८ र खेल सङ्ख्या १०४ पुर्याइएकाले रुसको उक्त कीर्तिमान सजिलै तोडिने सम्भावना देखिएको छ ।
प्रतियोगिताको तथ्याङ्कलाई हेर्दा आयोजक अमेरिकाले विपक्षीको गल्तीबाट सबैभन्दा बढी फाइदा उठाएको देखिन्छ । अमेरिकाविरुद्धको खेलमा पाराग्वेका डामियान बोबाडिला र अस्ट्रेलियाका क्यामरुन बर्गेसले आफ्नै जाली चुमाएका थिए । एउटै प्रतियोगितामा विपक्षीबाट दुई वटा आत्मघाती गोलको उपहार पाउने अमेरिकाले सन् २०१४ र २०१८ को फ्रान्सको कीर्तिमानसँग बराबरी गरेको छ । त्यस्तै, इराकका आयमेन हुसेनले नर्वेविरुद्धको खेलमा आफ्नै पोस्टमा गोल गरे पनि सोही खेलमा विपक्षीका लागि पनि गोल गर्दै विश्वकप इतिहासमा दुवैतर्फ गोल गर्ने तेस्रो खेलाडीको दुर्लभ सूचीमा आफ्नो नाम दर्ता गराएका छन् ।
जारी विश्वकपमा आत्मघाती गोलको सङ्ख्या ७ पुग्यो
विश्वकप इतिहासमा हालसम्म कुल ६२ वटा आत्मघाती गोल भइसकेका छन्, जसमध्ये झन्डै १३ प्रतिशत गोल यसै वर्षको प्रतियोगितामा मात्र भएका हुन् । विश्वकपमा पहिलो आत्मघाती गोल सन् १९३० मा मेक्सिकोका १८ वर्षीय म्यानुएल रोजासले चिलीविरुद्ध गरेका थिए । ऐतिहासिक रूपमा हेर्दा मेक्सिको हालसम्म सबैभन्दा बढी ४ पटक आफ्नै पोस्टमा गोल गर्ने अभागी टोली बनेको छ भने फ्रान्सले विपक्षीको गल्तीबाट सबैभन्दा बढी ६ पटक फाइदा उठाएको छ । सन् १९९० को विश्वकपपछि पाँच वटा यस्ता प्रतियोगिता पनि भए जहाँ एउटा पनि आत्मघाती गोल भएन, तर २०२६ को संस्करणले भने सुरुवातमै सबैको ध्यान खिचेको छ ।
अहिलेसम्मका खेलहरूमा कतारका मोहम्मद मानाई, स्विट्जरल्याण्डका मिरो मुहेइम, इजिप्टका मोहम्मद हानी र जोर्डनका यजान अल–अरब जस्ता खेलाडीहरूले पनि आफ्नै पोस्टमा गोल गरिसकेका छन् । यदि गोलको यो गति कायम रहेमा सन् २०२६ को विश्वकप आत्मघाती गोलका कारण पनि इतिहासमा स्मरणीय रहने निश्चित देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा