किसानलाई सधैँ मलकै चिन्ता
gorkhapatraonline.com · Fri May 29 00:05:48 GMT 2026

पश्चिम नवलपरासीमा हरेक वर्ष हुने रासायनिक मलको अभाव यस वर्ष झनै चर्कने देखिएको छ । जिल्लाका प्रायः किसानले जेनतेन मलको जोहो गरेर धानको बिउ (ब्याड) राखे पनि धान रोपाइँको समय नजिकिँदै जाँदा कसरी मलको व्यवस्था गर्ने हो भन्ने चिन्ताले किसानलाई सताएको छ । परासी आदर्श बहुमुखी सहकारी संस्थाका व्यवस्थापक सञ्जय सिंहले यस वर्ष मलको अभाव गत वर्षभन्दा धेरै हुने बताउनुभयो । “दैनिक किसान मल माग गर्न आउँछन् तर गोदाममा अलिकति मात्र मल छ वितरण कसरी गर्ने भन्ने दोधारमा छौँ,” सिंहले भन्नुभयो । रामग्राम–१३, कुनुवारका भेषराज चौधरीले यस्तै अवस्था रहे यस वर्ष धानको उत्पादन घट्ने बताउनुभयो । “चार/पाँच पटक सहकारीमा पुगिसके तर मल माथिबाट आएको छैन, कसरी दिने भनेर सहकारीले फर्काइदिन्छ, बिउ त राखियो तर अब रोप्नेबेला के गर्ने हो,” चौधरीले चिन्ता प्रकट गर्नुभयो ।
रामग्राम–७, उजैनीका किसान सलामुद्दिन देवानले विगतमा रासायनिक मल भारतबाट सहज रूपमा आयात हुँदा राहत भएको बताउँदै यस वर्ष नाकामा भएको कडाइले किसान झनै मर्कामा परेको बताउनुभयो । जिल्लामा कुल ४१ हजार हेक्टर खेतीयोग्य जमिन छ । जसमध्ये २१ हजार हेक्टरमा धान खेती हुँदै आएको छ । खेतीयोग्य जमिनका लागि वार्षिक कुल १८ हजार ३९८ मेट्रिक टन युरिया, १० हजार ६५७ मेट्रिक टन डिएपी र आठ हजार १४५ मेट्रिक टन पोटास आवश्यक छ । धान खेतीका लागि मात्रै पाँच हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी आवश्यक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)