गणतन्त्र महत्वपूर्ण राजनीतिक उपलब्धि
gorkhapatraonline.com · Fri May 29 02:32:55 GMT 2026

समाजका विभिन्न क्षेत्रका व्यक्तिले नेपाली जनताको ठुलो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र राजनीतिक रूपमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । १९ औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गोरखापत्रसँग कुराकानी गर्दै उनीहरूले विगतमा कुनै अमूक वंशमा जन्मेकै कारणले देशको शासक बन्ने प्रणालीलाई हटाएर जनताकै प्रतिनिधि शासन गर्ने ठाउँमा पुग्ने व्यवस्था गणतन्त्रले ल्याइदिएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाका सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले गणतन्त्रले हरेक नागरिकलाई आफ्नो लागि आवाज उठाउने, शासकलाई प्रश्न गर्ने अवसर दिएको बताउनुभयो । यो व्यवस्थाले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अधिकार प्राप्तिको दृष्टिले समेत गणतान्त्रिक व्यवस्थामा धेरै कुरा प्राप्त भएको छ । यद्यपि आर्थिक विकास, रोजगारी र सुशासनको क्षेत्रमा अझै निकै कमीकमजोरी बाँकी छन् ।” सभापति पाठकले गणतन्त्रबाट अपेक्षित रोजगारी, विधिमा आधारित शासनप्रणालीलाई संस्थागत गर्ने, भ्रष्टाचार र कुशासन अन्त्य गरी सुशासन प्रवर्धन जस्ता काम भने अझै गर्न बाँकी रहेको बताउनुभयो । उहाँले राजनीतिक, आर्थिक, सामाजिक र सञ्चार क्षेत्रमा सबैले आआफ्नो भूमिका जिम्मेवार भएर निर्वाह गर्न सके गणतन्त्र संस्थागत हुँदै शासनप्रणाली थप बलियो बन्ने धारणा व्यक्त गर्नुभयो ।
दलित महिला अधिकारकर्मी सावित्रा घिमिरे गणतन्त्रले दलित, सीमान्तकृत, महिलालाई अवसर प्रदान गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गणतान्त्रिक व्यवस्थाका कारण नै महिला, दलितहरूको नेतृत्वको विकास हुँदै गएको छ । नीति निर्माणमा पहुँच पुग्न सुरु भएको छ । यद्यपि एउटा मानवले पाउने सबै अधिकार भने अझै पाउन नसकिरहेको अवस्था छ । जातीय तथा सामाजिक विभेद पूर्ण रूपमा अन्त्य भए मात्र वास्तविक रूपमा गणतन्त्रको उपलब्धि अनुभूति गर्न सकिन्छ ।” भएका ऐन, कानुन, नीतिलाई व्यावहारिक र प्रभावकारी तरिकाले कार्यान्वयनमा लैजानुपर्ने बताउँदै उहाँ पछाडि पारिएका समुुदायले मौलिक अधिकार सहज रूपमा पाउने वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।
लैङ्गिक तथा अल्पसङ्ख्यकलाई पहिचानको अधिकार लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायकी निरङ चौधरीले गणतन्त्र आइसकेपछि लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचानसहित बाँच्न पाएको बताउनुहुन्छ । चौधरी विगतका तुलनामा गणतान्त्रिक शासनव्यवस्थामा केही कुरा प्राप्त गरे पनि त्यो पर्याप्त नभएको टिप्पणी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हुन त परिवर्तन एकै पटक सम्भव छैन तर परिवर्तनको गति निकै सुस्त भएकाले उत्साह जगाउन पनि सकेको छैन ।” गणतन्त्रले ल्याएको परिवर्तनकै कारण लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्ति बाहिर खुल्न, समुदाय र परिवारसमक्ष आफ्नो विषयमा निर्धक्कसँग राख्न सक्ने अवस्था बनेको उहाँ बताउनुहुन्छ ।
युवा अभियन्ता गङ्गा गणतन्त्र आएपछि नै युवाले निर्धक्कसँग बोल्न र आफ्नो माग राख्न पाइरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरनजिकै स्थानीय सरकार आउनु पनि गणतन्त्रकै देन हो । राज्यले युवाको मनोभावना बुझेर अगाडि बढ्नु पर्छ ।”
त्यस्तै अर्का युवा एकराज बडूले गणतन्त्र स्थापनापछि आममानिस, युवाको जीवनमा परिवर्तन आएको बताउनुभयो । उहाँ शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयलाई अझ सर्वसुलभ बनाउँदै यसप्रतिको आशा र भरोसा बढाउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।
गणतन्त्रले जनताको छोरा पनि राज्य सञ्चालन गर्ने ठाउँमा पुग्ने अधिकारलाई सुरक्षित गरे पनि यसप्रति सर्वसाधारण जनताका भने गुनासैगुनासा पाइएको छ ।
राज्य सञ्चालन गर्ने व्यक्ति र राजनीतिक दलको कमीकमजोरीबाट वाक्कदिक्क भएका उनीहरूले गणतन्त्र सर्वसाधारण जनताका लागि नभई नेताका लागि आएको टिप्पणी गरेका छन् । धनगढी उपमहानगरपालिका–७, मनहेराका स्थानीय भुवन भण्डारीले गणतन्त्र आएको आमजनताले खासै महसुस गर्न नसकेको बताउनुभयो । गणतन्त्रको उपलब्धि नेताका लागि मात्र भएको उहाँको टिप्पणी छ । गणतन्त्र आएपछि गरिब झन् गरिब भएको र गरिबका लागि उपलब्धि शून्य भएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)