मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्पेनको विश्वकपमा पहिलो जित, साउदी अरेबियामाथि ४-० को शानदार विजय

kalakarmi.com · Sun Jun 21 23:18:24 GMT 2026

एटलान्टा- युरोपियन च्याम्पियन स्पेनले फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो जित दर्ता गर्दै साउदी अरेबियालाई ४-० ले पराजित गरेको छ ।

समूह ‘एच’ अन्तर्गत आइतवार राति भएको खेलमा युवा स्टार लामिन यामाल र फरवार्ड मिकेल ओयार्जाबाल चम्किएपछि स्पेनले नकआउट चरण नजिक पुग्ने महत्वपूर्ण सफलता हासिल गरेको हो ।

पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेर निराश बनेको स्पेन यसपटक खेलको प्रारम्भदेखि नै आक्रामक देखिएको थियो । खेलको सुरुआतमै दवाव बनाएको स्पेनले १३औँ मिनेटमा अग्रता लियो । मिकेल ओयार्जाबालको तीव्र क्रसमा लामिन यामालले पछाडिको पोस्टमा पुगेर गोल गर्दै टोलीलाई अघि बढाए ।

यसअघि आलोचनाको सामना गरेका ओयार्जाबालले उत्कृष्ट पुनरागमन गरे । उनले पहिलो हाफको मध्यतिर मात्र तीन मिनेटको अन्तरमा दुई गोल गर्दै स्पेनको अग्रता ३-० पुर्याए । उनका दुवै गोल नजिकको दूरीबाट आएका थिए । उनले ह्याट्रिक गर्ने अवसर पनि पाएका थिए, तर बाहिरी भागले प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो ।

दोस्रो हाफमा प्रशिक्षक लुइस डे ला फुएन्तेले यामाल र ओयार्जाबाललाई विश्राम दिए पनि स्पेनको आक्रमण रोकिएन । खेलको ५०औँ मिनेटतिर मार्क कुकुरेलाको शक्तिशाली भली प्रहार गोलरक्षकले बचाए पनि रिबाउन्डमा साउदी अरेबियाका डिफेन्डर हसन अल ताम्बक्तीबाट आत्मघाती गोल भएपछि स्पेनले ४-० को अग्रता बनायो ।

त्यसपछि स्पेनले थप केही अवसर सिर्जना गर्यो । पेड्रो पोरोको शक्तिशाली प्रहार उत्कृष्ट रूपमा बचाइयो भने फेरान टोरेसले स्पष्ट अवसर खेर फाले । खेलको इन्जुरी समयमा टोरेसले गोल गरे पनि भीएआर जाँचपछि अफसाइड ठहर गर्दै गोल रद्द गरियो ।

यस जितसँगै स्पेनले दुई खेलबाट ४ अंक जोडेको छ र समूह चरण पार गर्ने सम्भावना बलियो बनाएको छ ।

खेलाडी मूल्यांकन (स्पेन)

गोलरक्षक तथा रक्षा पंक्ति

उनाई सिमोन – ६/१०

धेरै व्यस्त हुनु परेन । एउटा सामान्य बचाउ गरे भने केही अवसरमा राम्रो स्वीपिङ प्रदर्शन देखाए ।

पेड्रो पोरो– ७/१०

यामालसँग उत्कृष्ट तालमेल देखाए । दायाँ विंगबाट प्रभावकारी क्रसहरू दिए र दोस्रो हाफमा गोल गर्ने नजिक पुगे ।

पाउ कुबार्सी– ८/१०

साउदी अरेबियाका केही खतरनाक काउन्टर आक्रमण रोके । बल नियन्त्रण र खेल निर्माणमा पनि उत्कृष्ट ।

एमेरिक लापोर्ते– ८/१०

रक्षाबाटै अगाडि बढेर महत्वपूर्ण पासहरू वितरण गरे । ओयार्जाबालको पहिलो गोलका लागि हेडरमार्फत असिस्ट पनि प्रदान गरे ।

मार्क कुकुरेला– ७/१०

बायाँतर्फ निरन्तर आक्रमणमा सक्रिय रहे । तेस्रो र चौथो गोलको निर्माणमा महत्वपूर्ण भूमिका खेले ।

मिडफिल्ड

रोड्री– ७/१०

मिडफिल्डमा खेलको गति नियन्त्रण गरे। शान्त र प्रभावकारी प्रदर्शन।

पेड्री– ६/१०

आफ्नो क्षमता झल्काउने केही क्षण देखिए पनि बल गुमाउने क्रम बढी रह्यो। प्रहारहरू पनि लक्ष्यमा लागेनन् ।

डानी ओल्मो– ८/१०

आक्रमणको केन्द्रबिन्दु बने । ओयार्जाबालको दोस्रो गोलका लागि उत्कृष्ट हेडर असिस्ट दिए ।

आक्रमण

लामिन यामाल – ८/१०

बल पाउँदा हरेकपटक खतरनाक देखिए । गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । व्यक्तिगत कौशल र गति प्रभावशाली रह्यो ।

मिकेल ओयार्जाबाल – ९/१०

खेलका उत्कृष्ट खेलाडी। पहिलो गोलका लागि असिस्ट गरे र त्यसपछि दुई गोल थप्दै आलोचकलाई जवाफ दिए।

एलेक्स बाएना – ७/१०

बायाँ विंगबाट राम्रो योगदान। आक्रमणमा सक्रिय र प्रभावकारी प्रदर्शन।

विकल्प खेलाडी

येरेमी पिनो – ५/१०

दोस्रो हाफमा प्रवेश गरे पनि खास प्रभाव छोड्न सकेनन्।

फेरान टोरेस – ४/१०

राम्रो अवसरहरू पाए पनि सदुपयोग गर्न सकेनन्। एक गोल अफसाइडका कारण रद्द भयो।

मिकेल मेरिनो – ६/१०

उत्कृष्ट थ्रु बल प्रदान गरे, तर टोरेसले अवसर खेर फाले।

निको विलियम्स – ६/१०

छोटो समयमा केही आकर्षक क्षण देखाए।

फाबियन रुइज– ६/१०

मिडफिल्डमा खेललाई सहज रूपमा अघि बढाए।

प्रशिक्षक

लुइस डे ला फुएन्ते – ७/१०

केप भर्डेविरुद्धको बराबरीनपछि टोलीमा गरेका परिवर्तन सफल भए । यामाल र ओल्मोलाई सही भूमिकामा प्रयोग गर्दै स्पेनलाई सहज जित दिलाए । आफ्नो जन्मदिनमा उनले टोलीबाट उत्कृष्ट उपहार प्राप्त गरे ।

अब स्पेनले समूह चरणको अन्तिम खेलमा उरुग्वेको सामना गर्नेछ, जहाँ जित वा बराबरीले नकआउट चरणको यात्रा सुनिश्चित हुन सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय