मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गणतन्त्रको उद्घोषस्थल मधेस

nagariknews.nagariknetwork.com · Fri May 29 04:07:18 GMT 2026

कुनै समय नेपालमा राजतन्त्र र प्रजातन्त्र एकअर्काका विरोधी थिए। २००७ सालको जनक्रान्तिद्वारा स्थापित प्रजातन्त्रलाई राजा महेन्द्रले सैन्यबलमा हरण गरेका थिए।

उसो त राजा त्रिभुवनले नै पनि प्रजातन्त्रका लागि तयार पारिएको अन्तरिम विधानलाई पटक पटक संशोधन गरी कार्यकारी, विधायिकी र न्यायिक अधिकार आफूमा निहित गरेका थिए। त्यो बेलाको जनक्रान्तिको मुख्य उद्देश्य संविधानसभाको चुनाव थियो। त्यसलाई राजा त्रिभुवनले विभिन्न बहानामा टारे । उनको मृत्युपछि महेन्द्रले त संविधानसभाको चुनाव गराउनुको सट्टा २०१५ मा संसद्को चुनावको मिति घोषणा गरिदिए।

संसदीय चुनावमा नेपाली कांग्रेसले अत्यधिक मत ल्यायो। कांग्रेसले बहुमतको सरकारसमेत गठन गर्‍यो । बिपी कोइरालाको प्रधानमन्त्रित्वमा गठित सरकारले धमाधम प्रगतिशील काम गर्न थाल्यो। सामन्ती व्यवस्थालाई समाजवादी ढाँचामा ल्याउन विर्ता उन्मूलन, जमिनदारी उन्मूलन, भूमि सुधार, वनजंगलको राष्ट्रियकरण, सहकारी आन्दोलन जस्ता काममा तीव्रता दिन थाल्यो। नेपालको भूराजनीतिक एवं कूटनीतिक सम्बन्ध बढाउन थालियो। १८ महिनाभित्र नै कांग्रेस नेतृत्वको सरकारले विकास र निर्माणको काम मा सफलता हासिल गर्दै गयो । यसरी प्रजातान्त्रिक सरकारको प्रगतिशील काम देखेर राजा महेन्द्रको मनमा चिसो पस्न थाल्यो । राजाले आफ्नो भूमिका ओझेलमा परेको अनुभव गर्न थाले।

राजा महेन्द्रमा उब्जिएको राजशक्तिको आसक्तिले २०१७ पुस १ गते संसद् र सरकारलाई सैनिक शक्तिको बलमा विघटन गरी प्रजातन्त्र नै हरण गरे। शासन सत्ता आफूमा सीमित पारे। उनले जनक्रान्ति र जनअनुमोदित संसदीय प्रजातन्त्रलाई समाप्त पारे। निरंकुश राजतन्त्रले गर्दा मुलुकमा प्रजातन्त्रको संरक्षण र संवद्र्धन नहुने देखेर राजतन्त्रको उन्मूलन भए मात्र प्रजातन्त्र, लोकतन्त्र फस्टाउन सक्छ भन्ने निष्कर्षमा जनताको चेत पलायन थाल्यो।

नेपालमा गणतन्त्रको स्थापना अपरिहार्य छ भनी रामराजाप्रसाद सिंह त्यस अभियानलाई अघि बढाए। हुन त उनी भारतको बनारस हिन्दु युनिर्भसिटीमा अध्ययनरत रहँदा नै गणतन्त्रतिर लागिसकेका थिए । खासमा २०१८ सालमा दुर्गानन्द झाले राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गरेपछि उनलाई दिएको फाँसीको सजायले त रामराजालाई राजतन्त्रप्रति तीव्र घृणा बढेर गयो। राजाको त्यो फैसलाप्रति बनारसबाट प्रकाशित हुने पत्रिकामा त्यसको विरोधमा सिंहले लेख नै छपाएका थिए। दुर्गानन्द झाको फाँसीको सजायबारे लेखिएको त्यस लेखको सार थियो, ‘सहादतको बलिवेदीमा दुर्गानन्द झाले अमरत्व प्राप्त गर्नुभएको छ।’

त्यही साल पटनामा भारतीय कांग्रेस पार्टीको सम्मेलन भइरहेको थियो। त्यो मौका छोपेर रामराजाप्रसाद सिंह पटना पुगी नेपालमा गणतन्त्र र लोकतन्त्रको बहाली हुनुपर्छ भनेर पर्चा बाँडेका थिए । सो पर्चामा भारतीय कांग्रेस र सरकारले सहयोग र समर्थन गरिदिन अनुरोध गरेका थिए । यसरी भारतमा अध्ययन गरिरहेको बेलादेखि नै रामराजाप्रसाद सिंह नेपालमा गणतन्त्र र पूर्ण लोकतन्त्रको बहाली हुनुपर्छ भनी आन्दोलनरत थिए।

भारतमा पढाइ सकिएपछि सिंहले नेपाल आएर सर्वोच्च अदालतमा वकालत गर्न थाले । २०२४ सालमा स्नातक क्षेत्रको चुनाव लडे । उनले त्यो उम्मेदवारी पञ्चायती व्यवस्था ढाल्नका लागि मात्र नभई निरंकुश राजतन्त्रका अन्त्यका लागि जनचेतना पनि जगाउन थियो।

रामराजाप्रसाद सिंहले आफ्नो उम्मेदवारी किन र कसका लागि भनेर पर्चासमेत छपाएका थिए । उनले काठमाडौंको बत्तीसपुतलीमा पहिलो भाषण दिँदै गर्दा २०१७ सालमा राजा महेन्द्रबाट ‘कु’ भयो। त्यसको विरुद्ध कसरी लड्ने भन्ने चुनौती आइप¥यो । त्यसमा उनले भनेका थिए– यो अवस्थामा सबै चिज भताभुंग पारेर जानुपर्छ । एउटा चिजलाई खत्तम गर्न सकिन्न भने कहिलेकहीँ हरेक चिजलाई खत्तम गरेर जानुपर्ने हुन्छ। यो स्थितिमा जनक्रान्तिको कुरा पनि आउँछ। त्यसका लागि क्रान्तिकारीहरू तयार हुनुपर्छ।

चुनावी सभामा क्रान्तिकारी भाषण गर्दै हिँडेकाले पञ्चायती सरकार डराएर रामराजालाई गिरिफ्तार गर्‍यो, उम्मेदवारी नै रद्द गरायो।

रामराजाप्रसाद सिंह चार वर्षपछि २०२८ सालमा फेरि स्नातक क्षेत्रमै उम्मेदवार बने । उनले व्यवस्थित ढंगले चुनावी सभा सञ्चालन गर्न थाले। २०२४ सालको चुनावमा नै उनी चर्चित भइसकेकाले यो चुनावमा ठाउँठाउँमा जनताले भाषण गर्न बोलाउन थाले । उनले आक्रामक रूपमा भाषण गर्न थाले । पञ्चायती संविधानको विरोध मात्र होइन, भाषणका क्रममा उनले राजाको पनि विरोध गर्न थाले । पञ्चायतको दबदबा रहेको त्यो समयमा राजधानीमा नै दरबार अगाडि गएर विरोध गर्नु कम साहसका कुरा थिएन। उनी राजतन्त्रको विरोध र गणतन्त्रको उद्घाषको सिलसिला यतिमै सीमित छैन।

एक दिन त्रिभुवन विश्वविद्यालयको प्रांगणभित्र रहेको ‘सेडा’ले पशुपति शमशेर राणाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरेको थियो । रामराजालाई कमेन्टेटरका रूपमा बोलाइएको थियो । कानुन र संवैधानिक विषयमा छलफल र टिप्पणी गर्न त्यो कार्यक्रममा काननुका विद्वान्हरू कुसुम श्रेष्ठ, कृष्णप्रसाद पन्तलगायतको संयुक्त कार्यपत्र थियो । उनीहरूले प्रस्तुत गरेको कार्यपत्रको आशय यस्तो थियो– पञ्चायतकालीन संविधानको धारा १७ को कारणले हाम्रा मौलिक हक प्रतिबन्धित भएका छन्। त्यो धाराका कारण हामी मौलिक हकको उपभोग गर्न पाउँदैनौं। अन्य धाराले त अधिकार दिएका छन् भन्ने उनीहरूको कार्यपत्रको आशय थियो।

तर रामराजाप्रसादले संविधानको धारा १७ को कारणले मात्र हामीले मौलिक हक नपाएका होइनौँ भनेर विरोध गर्दै भनेका थिए– नैसर्गिक अधिकार एकअर्काका पूरक हुन्छन्, एउटा मौलिक अधिकार छ भने अरू मौलिक अधिकार पनि प्राप्त हुन्छन्, एउटा मौलिक अधिकार दिइएको छैन भने अरू मौलिक अधिकार पनि प्राप्त हुन सक्दैनन् । मौलिक हक एकअर्कामा गएर समाहित हुनुपर्छ। एकअर्काबाट निःसर्त हुनुपर्छ र एकअर्कामा गएर पूर्णता प्राप्त गर्छ।

पञ्चायती संविधानमा मौलिक हक छैन्। मानिस त्यसबेला मात्र मानिसका रूपमा बाँच्न सक्छ जुनबेला उसले प्राप्त गर्नुपर्ने हक पाएको हुन्छ । तर यो संविधानले नेपाली जनतालाई मौलिक हक दिएको छैन । यसले एउटा पनि नेपालीलाई जिउँदो बन्न दिएको छैन। राजनीतिक पार्टी खोल्ने हक नै यो संविधानले दिएको छैन भने अरू कुनै पनि अधिकार यसमा हुँदैन । त्यस कारण एउटा मौलिक हकलाई जहाँ अस्वीकार गरिन्छ, त्यहाँ सबै मौलिक हक अस्वीकृत हुन पुग्छन्। यो संविधानले नेपालका सबै मौलिक हकलाई अस्वीकार गरेको छ।

उनको क्रान्तिकारी भाषण सुन्न गाउँगाउँबाट हजारौं जनता भेला भएका थिए। यो पञ्चायती व्यवस्था अराष्ट्रिय र असंवैधानिक व्यवस्था हो भनी गर्जिन थाल्दा तालीको गडगडाहट आएको थियो । तर प्रहरीहरू आएर घेरा हाली लाठी चार्ज गर्न थाले । रामराजासहित रामेश्वरप्रसाद सिंह, इन्द्रदेव सिंह, हिम्मत सिंह, खुसीलाल मण्डल, मधुकान्त सिंह लगायत थुपै्र जना घाइते भए। यो घटनापछि पनि रामराजाले विराटनगर गएर भाषण गरे विराटनगरको सन्सरीमाई स्थानको ठुलो चौरमा आमसभा भएको थियो । त्यहाँ रामराजा सिंहको निकै जोसिलो भाषण भयो।

त्यहाँ उनको भाषणको सार यस्तो थियो– राजा रगतको होली खेलिराखेका छन्। अब रक्तक्रान्ति पनि नजिक आउँदै छ । यस्तै हुँदै जाने हो भने सशस्त्र क्रान्ति चाँडै हुन्छ । तर अहिले हाम्रो संघर्षको चरण हो, अहिंसात्मक संघर्षको। तर यस्तै हुँदै गयो भने नेपालका रूखमा बम, बारुद, बन्दुक र तरबार फल्ने छैन । यहाँका नदीमा पानी होइन रगतको भेल बग्ने छ। हजारौं प्रजातन्त्रवादीहरू भेला भएको त्यो कार्यक्रममा गरेको क्रान्तिकारी भाषणपछि रामराजा गिरफ्तार भएका थिए।

२०४२ सालमा बहुदलको माग गर्दै कांग्रेसले आह्वान गरेको शान्तिपूर्ण सत्याग्रह चलिरहेका बेला असार ६ गते काठमाडौंमा बम पड्काइएको थियो। बम राष्ट्रिय पञ्चायत भवन, नारायणहिटी राजदरबार, अन्नपूर्ण होटललगायतका स्थानमा पड्काइएको हो । त्यस बम काण्डमा परेर केही निर्दोष मान्छेको ज्यानसमेत गएको थियो।

उक्त बम विस्फोटको जिम्मेवारी रामराजा प्रसाद सिंह आफैंले लिएका थिए। बम पड्काएको भन्दै पञ्चायती सरकारले उनलाई फाँसीको सजाय सुनाएको थियो। पञ्चायती सरकारले कांग्रेसको आन्दोलन हिंसामा परिणत भएको आरोप लगाएर दुःख दिने सम्भावना बढेपछि कांग्रेले तत्कालै सत्याग्रहको शान्तिपूर्ण आन्दोलन फिर्ता भएको घोषणा गरेको थियो।

२०४६ सालको परिवर्तनपछि पनि सिंहमाथिको मुद्दा कायमै थियो तर यो परिवर्तन भनई जनआन्दोलन सम्झौतामा टुंगिएको भन्दै रामराजा असन्तुष्ट थिए। उनको विचारमा गणतन्त्रतर्फ लम्किरहेको आन्दोलनमा यथास्थितिमुखी ब्रेक लगाइयो । तथापि आन्दोलनको नतिजाले रामराजा र जनवादी मोर्चालाई केही न केही त्राण दियो । आन्दोलनकोपछिको परिवर्तनले राजाको स्वेच्छाचारी एकाधिकार तोडियो। निर्दलीय निरंकुशता इतिहास बन्यो र बहुदलीयताको द्वार पुनः खुल्यो।

२०४६ सालको जनआन्दोलनपछि पनि उनको मुद्दा यथावत् रह्यो। पछि गिरिजाप्रसाद कोइरालाको सरकारले सिंहलगायत बमकाण्डका सबै अभियुक्तलाई आममाफी दिने निर्णय ग¥यो । सिंहले पुनः २०५१ सालमाको मध्यावधि चुनावमा नेपाल जनवादी मोर्चाको तर्फबाट सिरहा र धनुषाबाट उम्मेदवारी दिए पनि दुवै क्षेत्रबाट पराजित भए । उनको दलले एउटा पनि सिट जितेन ।

२०६३ सालमा सिंहले तत्कालीन माओवादीको मधेसी मुक्ति मार्चाको सम्मेलनमा भाषण गरेपछि उनी माओवादीनिकट भए । जनवादी मोर्चा र माओवादीबिच एकता भए पनि सिंह माओवादीमा गएनन् तर एकीकृत माओवादीको तर्फबाट संघीय गणतन्त्र नेपालको पहिलो राष्ट्रपति उम्मेदवार बने र पराजित भए।

सिंहले भारतको बिहार राज्यअन्तर्गत दरभंगास्थित आफ्नो मामाघर बसेर पढेका थिए । भारत छोडो आन्दोलनकारी र तिनको हतियार सप्तरीस्थित घरमा नेपाल प्रहरीले भेटेका कारण यिनी नौ वर्षकै कलिलो उमेरमा भाइ लक्ष्मणप्रसाद सिंह र बुबा जयमंगलप्रसाद सिंहसँगै जेल परेका थिए । सप्तरी सदरमुकाम राजविराजमा परिवारसँगै बस्दै आएका उनको ७७ वर्षको उमेरमा २०६९ भदौ २७ मा काठमाडौंमा स्नायुसम्बन्धी पार्किन्सन्स् रोगबाट भयो। २०६९ भदौ २७ गते उनको निधन भयो।

गणतन्त्रवादी नेता दुर्गानन्द झा

मधेसको दूरदेहातमा जन्मिएर राजासँग फरक मत मात्र होइन, राजा नै चाहिँदैन भने साहस गर्ने व्यक्तिका रूपमा चिनिन्छन् दुर्गानन्द झा । उनको जन्म १९९९ वैशाख १४ मा धनुषाको जटही गाउँमा पिता देवनारायण र माता सुकुमारीदेवी झाको एक्लो सन्तानका रूपमा भएको थियो।

२०१७ पुस १ मा राजा महेन्द्रले गरेको ‘कु’को विरोधमा कांग्रेसले आन्दोलन सुरुवात गर्‍यो । प्रजातन्त्रमाथि ‘कु’ गर्ने राजा महेन्द्रको कदमविरुद्ध युवा उमेरका दुर्गानन्दको आक्रोश उत्कर्षमा थियो । भारतको जयनगरमा निर्वासित जीवन बिताइरहेका कांग्रेस नेता सरोज कोइरालाको सम्पर्कमा पुगी उनले राजा महेन्द्रको जनकपुर सवारीका क्रममा बम प्रहार गर्ने योजना बनाएका थिए। २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर भ्रमणका क्रममा दुर्गानन्दले महेन्द्र चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेका थिए।

कडा सुरक्षा पहराबिचमा महेन्द्र चढेको गाडीमाथि जानकी मान्दिरमा दुर्गानन्दले बम प्रहार गरे। यद्यपि बम पड्केन, गाडीको सिसामा क्षति भयो । बम प्रहार गरेर सकुशल उम्कनसमेत दुर्गानन्द सफल भएका थिए । त्यो दिन उनी जनकपुरमै सुरक्षित बसेर बिहान भारतको उभगाउँ पुगेका थिए । दुर्गानन्दकै नजिकका व्यक्तिले उनलाई राजाबाट माफी दिलाइदिने भनेर बोलाए।

जयनगरबाट रेल चढेर जनकपुर आउँदै गरेका दुर्गानन्द बाटोबाटै गिरफ्तार भए। पक्राउ परेको भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याएर हेलिकोप्टरबाट काठमाडौंको केन्द्रीय कारागारमा पुर्‍याइएको थियो। दुर्गानन्दमाथि राज्यले राजामाथि गाथ गादी हालेको (राजालाई मार्ने उपक्रम) गरेको अभियोग लगाइयो। उनलाई फाँसीको सजाय तोकियो । तर ब्राह्मण जातिका उनलाई फाँसी वा मृत्युदण्ड दिन कानुनमा व्यवस्था थिएन। कानुनले ब्राह्मणलाई मृत्युदण्ड दिन रोक लगाएको थियो।

त्यतिबेला राज्यले जनकपुरमा राजामाथि भएको बमकाण्डको छानबिन गर्न विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो। आयोगले २०१९ भदौ १९ मा सरकारलाई प्रतिवेदन बुझायो।

नेपालमा मृत्युदण्डको सजाय पाउने पहिलो ब्राह्मण मात्र होइन, गणतन्त्रणको बिगुल फुक्ने पहिलो व्यक्ति थिए दुर्गानन्द झा। उनले राजा महेन्द्रको गाडीमाथि बम प्रहार गरेर गणतन्त्र उद्घोष गरेको ४५ वर्षपछि देशमा गणतन्त्र आयो । उनी गणतन्त्रका लागि बलिदानी दिएको ५२ वर्षपछि सहिद घोषणा भए तर उनी गणतान्त्रिक सरकारको प्राथमिकताबाट ओझेल पर्दै आएका छन्।

नेपालमा गणतन्त्र आएपछि कांग्रेस र कम्युनिस्ट दुवैले सरकारको नेतृत्व गरे तर नेपालमा गणतन्त्र आएको झन्डै एक दशकपछि दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गर्‍यो। उनको परिवारलाई सरकारले अझै सहिद परिवारसरहको सम्मान दिन सकेको छैन।

पुराना राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘मधेस र मधेसीमाथिको विभेदको यो चरम उदाहरण हो, जसले नेपालमा गणतन्त्रको शंखघोष गरे। राजाको खिलाफ बोल्ने साहससम्म नगर्ने समयमा जसले राजामाथि बम प्रहार गरेर गणतन्त्रको उद्घोष गरे।’

मण्डल भन्छन्, ‘गणतान्त्रिक मुलुकमा दुर्गानन्दको बलिदानी ओझेल पर्नु विडम्बना हो।’ यद्यपि त्यो हमला ज्यान लिने उद्देश्यले गरिएको थिएन। राजाबिनाको ‘तन्त्र’ कल्पना गर्नु पनि अपराध करार हुने समयमा दुर्गानन्दले राजामाथि बम फ्याँकेर साहस मात्र प्रदर्शन गरेका थिएनन्,’ मण्डल भन्छन्, ‘राजा चाहिँदैन भन्ने सन्देश दुर्गानन्दले त्यतिबेला नै प्रदर्शन गरेका थिए तर मधेसी भएकै कारण दुर्गानन्द मरणोपरान्त पनि राज्यबाट सहिद घोषणा हुन दशकौं पर्खिनुपर्‍यो। सहिद घोषणा भएर पनि सहिदसरह सम्मान पाउन सकेका छैनन् ।’

२०२० माघ १५ गते झालाई फाँसी दिइएको थियो। २०७२ फागुन १९ गते राज्यले उनलाई सहिद घोषणा गरेको थियो। गणतन्त्रका लागि हाँसीहाँसी फाँसीमा चढेका दुर्गानन्दले सहिदका सम्मान पाउन ५२ वर्ष कुर्नुपर्‍यो। २०६५ जेठ १५ मा बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । विशेष अदालतद्वारा २०१९ भदौ १९ गते कुनै सुनुवाइ नगरी मृत्युदण्ड दिने फैसला सुनाइएको थियो। पञ्चायतकालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासबाट उक्त फैसला भएको थियो । २०१९ फागुन २० मा सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले फैसला सदर गरेका थिए।

राजनीतिज्ञ मण्डल भन्छन्, ’ब्राह्मणलाई मृत्युदण्ड दिन नहुने कानुन संशोधन गरेर यो देशमा फाँसी पाउने पहिलो व्यक्ति दुर्गानन्द हुन् । २०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख गरियो, जसअनुसार २०२० माघ १५ गते राति दुर्गानन्द झालाई केन्द्रीय कारागारको रूखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो। राज्यले दुर्गानन्दलाई बिन्तीपत्र लेखेर राजासमक्ष माफी मागे मृत्युदण्ड मिनाहा हुने अन्तिम समयसम्म भनिरह्यो तर दुर्गानन्द झुक्न तयार भएनन्। उनले माफीभन्दा मृत्यु स्विकारे । उनी हाँसीहाँसी फाँसीमा चढे। कतिसम्म भने राज्यले दुर्गानन्दको मृत शरीरसमेत उनको परिवारलाई दिएनन्। उनको परिवारले भारतको गयामा गएर कुशलाई अन्तिम संस्कार गरेका थिए।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)