पेलेपछि १८ वर्षको उमेरमा गोल गर्ने दोस्रो खेलाडी बने यमल
setopati.com · Sun Jun 21 23:47:00 GMT 2026

१८ वर्षीय युवा खेलाडी लामिन यमलले आफ्नो पहिलो विश्वकप सुरुआतमै जादुमयी प्रदर्शन गरेपछि स्पेनले साउदी अरबलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै स्पेनले जारी विश्वकपमा आफ्नो पहिलो सफलता दर्ता गरेको छ।
पहिलो खेलमा केप भर्डसँग बराबरीमा रोकिएको स्पेनका लागि प्रशिक्षक लुइस डे ला फुएन्टेले यसपटक बार्सिलोनाका किशोर स्टार यमललाई सुरुवाती ११ मा राखेका थिए। उनले प्रशिक्षकको निर्णयलाई सही साबित गर्न मात्र १० मिनेट समय लिए।
मिकेल ओयार्जाबलको पासमा गोल गर्दै यमलले खेलमा स्पेनलाई अग्रता दिलाए। यस गोलसँगै उनी विश्वकपमा गोल गर्ने १८ वर्ष वा सोभन्दा कम उमेरका दोस्रो खेलाडी बनेका छन्। यसअघि सन् १९५८ मा ब्राजिलका महान खेलाडी पेलेले मात्र यो उपलब्धि हासिल गरेका थिए।
यमलको गोलपछि स्पेनले खेलमा पूर्ण नियन्त्रण बनायो। मिकेल ओयार्जाबलले दुई गोल थपेपछि स्पेन पहिलो हाफमै ३-० ले अघि बढ्यो। दोस्रो हाफको सुरुमै साउदीका डिफेन्डर हस्सान अल ताम्बक्तीको आत्मघाती गोलले स्पेनको अग्रता ४-० पुग्यो। यमल र ओयार्जाबललाई दोस्रो हाफमा आराम दिइएको थियो।
साउदी अरबका तर्फबाट अब्दुल्लाह अल हमदानले एक उत्कृष्ट प्रहार गरे पनि त्यसलाई स्पेनका गोलकिपरले बचाएका थिए। यो जितसँगै २ खेलबाट ४ अंक जोड्दै स्पेन समूह 'एच' को शीर्ष स्थानमा उक्लिएको छ। अब स्पेनले आफ्नो अन्तिम सामूहिक खेल शनिबार उरुग्वेविरुद्ध खेल्नेछ।
यमलको मैदानमा उपस्थितिले दर्शकहरूमाझ बेग्लै उत्साह पैदा गरेको थियो। चोटबाट भर्खरै फर्किएका भए पनि उनले साउदी अरबका डिफेन्डरहरूलाई निकै दबाबमा राखे। फुटबल विश्लेषकहरूले उनलाई स्पेनको 'मुख्य खम्बा' को रूपमा हेर्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)