मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्खुवासभाका १३ जना उम्मेदवारले अझै खोलेनन् बैंक खाता

rajdhanidaily.com · Sun Feb 01 23:30:23 GMT 2026

सङ्खुवासभा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावमा सहभागी दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने ब्यवस्था छ । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका १६ जना उम्मेदवार मध्ये आइतबारसम्म ३ जनाले मात्र निर्वाचन खर्चका लागि नयाँ बैंक खाता खोलेका छन् । निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च गर्न अनिवार्य रूपमा नयाँ बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारको छुट्टै बैंक खाता खोल्ने व्यवस्था उल्लेख छ । जिल्लामा १५ दल र एक स्वतन्त्र सहित १६ जना उम्मेदवार रहेका छन् । तर हालसम्म १३ जनाले अझै बैंक खाता खोलेर विवरण बुझाएका छैनन् । बैंक खाता खोल्ने उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पदम बहादुर तामाङ, एमालेका अर्जुन कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङमा शेर्पा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)