एआईको प्रभावकारी प्रयोग गर्न सुझाव
gorkhapatraonline.com · Mon Jun 22 00:57:05 GMT 2026

शिक्षण सिकाइमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) को प्रभावकारी प्रयोग, त्यसका अवसर र चुनौतीबारे केन्द्रित भीमेश्वर नगरस्तरीय एकदिने शैक्षिक सम्मेलन आइतबार चरीकोटमा सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिकाको सहयोगमा गौरीशङ्कर बहुमुखी क्याम्पसले आयोजना गरेको सम्मेलनमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा क्याम्पसका प्राध्यापकको सहभागिता रहेको थियो ।
सम्मेलन उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताउनुभयो । उहाँले प्रविधिको सही उपयोगमार्फत शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा महानन्द चालिसेले एआई र मानवीय संवेदनशीलताबिच सन्तुलन कायम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले प्रविधिको उपयोगले शिक्षण सिकाइलाई सहज बनाउने भए पनि विद्यार्थीमा सिप, सिर्जनशीलता र आलोचनात्मक सोचको विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक सिप र उत्पादनशील गतिविधिसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गौरीशङ्कर बहुमुखी क्याम्पसका प्रमुख शान्त केसीले एआईको प्रयोगले पठनपाठनलाई थप रोचक, प्रभावकारी र नतिजामुखी बनाउन सहयोग पुगेको बताउनुभयो । सम्मेलनमा एआईविज्ञ डा. भरतप्रसाद न्यौपाने, डा. निरोज दाहाल र ईश्वर चौलागाईंले शिक्षण सिकाइमा एआईको व्यावहारिक प्रयोग, त्यसका फाइदा, चुनौती तथा जिम्मेवार उपयोगका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)