पुरानो भवनमा न्यायिक सङ्ग्रहालय निर्माण गरिने
gorkhapatraonline.com · Mon Jun 22 00:54:11 GMT 2026

सिंहदरबारपरिसरमा निर्माण भइरहेको सर्वोच्च अदालतको नयाँ भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । आधुनिक संरचना र सुविधासम्पन्न कक्षसहितको यो भवन अब छिट्टै पूर्ण रूपमा सञ्चालनमा आउने तयारीमा छ ।
सर्वोच्च अदालतको भौतिक शाखा प्रमुख निरञ्जन शर्माले सर्वोच्च अदालत नयाँ भवनको मुख्य संरचनाको काम सम्पन्न भइसकेको बताउँदै अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार अब भवनको मुख्य प्रवेशद्वार निर्माण, भित्रका सडकको कालोपत्रे तथा भवनको आन्तरिक (इन्टेरियर) काम भइरहेका छन् ।
उहाँले भन्नुभयो, “भूकम्प प्रतिरोधी र अत्याधुनिक प्रविधियुक्त (अर्थक्विक रेजिलेन्ट टेक्नोलोजी) मा निर्माण भइरहेको सो भवनमा बृहत् इजलासको व्यवस्था गरिएको छ जसमा २१ जना न्यायाधीश एकैसाथ इजलासमा बस्न सक्ने क्षमताको बृहत् पूर्ण इजलासको पनि व्यवस्था गरिएको छ । सेवाग्राही र कर्मचारीलाई सहजता प्रदान गर्नका लागि सुविधासम्पन्न कक्षको निर्माण गरिएको छ ।”
यो भवन करिब एक लाख वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । बेसमेन्ट पार्किङ र सबैभन्दा माथिल्लो तलामा रहेको विशेष हल (अडिटोरियम) सहित यो भवन आठ तलाको छ । नियमित मुद्दा सुनुवाइका लागि थप १७ वटा आधुनिक इजलास कक्ष निर्माण गरिएका छन् । प्रत्येक इजलाससँगै न्यायाधीशका लागि आधुनिक र सुरक्षित एट्याच्ड च्याम्बरको व्यवस्था छ । ह्विलचेयर र शारीरिक अशक्तता भएका सेवाग्राहीको सहज पहुँचका लागि भवन पूर्ण रूपमा अपाङ्गतामैत्री बनाइएको उहाँले जानकारी दिनुभयो । यसै गरी भवनभित्र अत्याधुनिक इन्टेरियर डिजाइन, अत्याधुनिक एयर कन्डिसनिङ प्रणाली र सवारीसाधनका लागि व्यवस्थित भूमिगत पार्किङको सुविधा छ । यस भवनभित्र करिब चार सय चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सक्ने क्षमताको पार्किङ स्थल निर्माण गरिएको छ । यो भवनको ठेक्का कालिका÷समानान्तर कन्स्ट्रक्सन (संयुक्त) ले पाएको छ ।
कुल पाँच अर्ब १९ करोड ८८ लाख ५७७ रुपियाँको लागतमा निर्माण भइरहेको यस आयोजनाको तीन पटक म्याद थप भइसकेको भौतिक शाखा प्रमुख शर्माले बताउनुभयो ।
अहिले सर्वोच्च अदालत रहेको भवनमा न्यायिक सङ्ग्रहालय निर्माण हुने भएको छ । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनमा सर्वोच्च अदालत स्थानान्तरण भइसकेपछि अहिलेको भवनमा न्यायिक सङ्ग्रहालय निर्माण हुने सर्वोच्च अदालतको भौतिक शाखा प्रमुख शर्माले जानकारी दिनुभयो । नेपालको न्याय प्रणाली, न्यायिक इतिहास, मुलुकको न्यायिक इतिहाससँग जोडिएका अभिलेख र सामग्रीको संरक्षण तथा भावी पुस्तालाई त्यसबारे जानकारी दिने उद्देश्यले न्यायिक सङ्ग्रहालय निर्माण गरिने बताउनुभयो ।
“अहिले सर्वोच्च अदालत रहेको भवनको पहिलो तलामा न्यायिक सङ्ग्रहालय निर्माण गरिने छ । त्यो तलामा रहेका इजलासलाई सङ्गहालयका रूपमा विकास गरिने छ, उहाँले भन्नुभयो, “सङ्ग्रहालयमा पुराना कानुन, फैसला, मुद्दा फैसलाका क्रममा प्रयोग गरिएका नजिर, दसी, प्रमाण, मुलुकको न्याय क्षेत्रको चरणबद्ध इतिहास झल्कने दस्ताबेज राखिने छ ।”
त्यसै गरी सङ्ग्रहालयमा न्यायिक इतिहासलाई जीवन्त राख्ने सामग्री, तत्कालीन फैसला, आदेश, तत्कालीन न्यायाधीशले प्रयोग गरेका पोसाक, लिखित कानुनअघिका सामग्री, शिलालेख, भोजपत्र तथा पुराना टाइपराइटरलगायतका सामग्री सङ्ग्रह गरिने छ । मुलुकको न्यायिक इतिहासलाई जीवन्त राख्नुका साथै न्याय क्षेत्रमा कार्यरत व्यक्ति तथा अध्ययनरत विद्यार्थीका लागि समेत सङ्ग्रहालय उपयोगी हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)