मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संखुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित

nepalsamaya.com · Mon Jun 22 01:18:36 GMT 2026

संखुवासभा- अविरल वर्षासँगै आएको पहिरोका कारण संखुवासभामाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन्।

शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए।

पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका–६ खानीडाडाँमा यारबहादुर तामाङका ६ जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताए। उनका अनुसार पहिरोले विश्वकर्माको दुईतले घर पछाडितिरको भाग भत्काएको छ।

पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घरसमेत जोखिममा परेको छ। फेरि पहिरो जानसक्ने र दुवै घरमा क्षति पुग्ने सम्भावना देखिएपछि स्थानीय निकायसँग समन्वय गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

पहिरोबाट विस्थापित अहिले छिमेकीको शरणमा बसेका छन्। पहिरो कारण सभापोखरी–१ धुपुमा खेतीयोग्य जमिन पुरिएको छ। धुपुका राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारी रहेको खेत पहिरोले कटान तथा पुरिएको प्रहरीले जनाएको छ।

धुपु प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले विस्थापित तथा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)