देशका अधिकांश पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
shilapatra.com · Mon Jun 22 01:13:00 GMT 2026

देशका हिमाली तथा पहाडी भू–भागमा आज सामान्यदेखि आंशिक बदली रहने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । यस्तै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहर (हिटवेभ) को अवस्था रहने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि अत्यधिक गर्मीका कारण तातो दिनको अनुभव हुन सक्ने जनाइएको छ ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका केही स्थानमा पनि राति वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ८, २०८३
०६:५८
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
मधेस प्रदेश
मौसम