मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तो रहला आजको मौसम ?

nepalviews.com · Mon Jun 22 01:25:43 GMT 2026

काठमाडौं । नेपालमा हाल पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका विभिन्न भू-भागमा मौसमको दुईवटा फरक रूप देखिन थालेको छ, जसअन्तर्गत कोशी प्रदेशका केही स्थानमा मनसुनी वायु सक्रिय भइरहँदा अन्य भू-भागमा भने पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ।

अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली भएको छ भने मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। यतिबेला कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ।

सोमबार दिउँसो र राति देशका हिमाली र पहाडी क्षेत्रका साथै कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ। यसैगरी कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ। तराई क्षेत्रतर्फ कोशी प्रदेशका थोरै स्थान र मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा भने अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्ने देखिन्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर अर्थात् ‘लु’ चल्ने सम्भावना रहेको छ। यसका साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही क्षेत्रमा पनि अत्यधिक गर्मी भई तातो दिन हुने महाशाखाको पूर्वानुमान छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)