पहिलोपटक विश्वकप खेलेको केप भर्डेसँग बराबरीमा रोकियो दुईपटकको विश्वविजेता उरुग्वे
nepalpress.com · Mon Jun 22 01:23:09 GMT 2026

काठमाडौँ । फिफा विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेले उरुग्वेसँग २–२ को बराबरी खेल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
मियामीमा केहीबेरअघि सम्पन्न खेलमा केप भर्डेले दोस्रो हाफमा पुनरागमन गर्दै महत्त्वपूर्ण एक अंक हासिल गरेको हो।
यसअघि स्पेनसँग पनि बराबरी खेलेर सबैलाई चकित बनाएको केप भर्डेले २१औँ मिनेटमा विश्वकप इतिहासकै आफ्नो पहिलो गोल गर्दै अग्रता लिएको थियो। केभिन पिनाले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई अघि बढाएका थिए।
तर पहिलो हाफको अन्त्यतिर उरुग्वेले लगातार दुई गोल गर्दै खेल आफ्नो पक्षमा मोड्यो। ४४औँ मिनेटमा म्याक्सी अराउहोले बराबरी गोल गरे भने पहिलो हाफको अतिरिक्त समयको छैटौँ मिनेटमा अगुस्टिन कानोब्बियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।
दोस्रो हाफमा उरुग्वे खेल नियन्त्रणमा राखिरहेको देखिए पनि ६१औँ मिनेटमा अनुभवी गोलकिपरले फर्नान्डो मुस्लेराले गरेको ठूलो गल्ती महँगो साबित भयो।
गोलपोष्ट छाडेर अनावश्यक रूपमा अगाडि बढेका मुस्लेराको त्रुटिको फाइदा उठाउँदै विकल्प खेलाडी हेलियो भरेलाले खाली पोस्टमा सहज गोल गर्दै केप भर्डेलाई २–२ को बराबरी दिलाए।
त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् र खेल बराबरीमा सकियो।
यो नतिजासँगै समूह ‘एच’ मा केप भर्डेले दुई खेलबाट दुई अंक जोडेको छ। अब अन्तिम खेलमा साउदी अरेबियामाथि जित निकाले केप भर्डे अन्तिम ३२ मा पुग्नेछ।
दुई पटकको विश्वविजेता उरुग्वेको अवस्था भने संकटपूर्ण बनेको छ। यसअघि साउदी अरेबियासँग १–१ को बराबरी खेलेको उरुग्वे फेरि कमजोर मानिएको टोलीसँग अंक बाँड्न बाध्य भयो।
अब उरुग्वेले अन्तिम खेलमा युरोपेली च्याम्पियन स्पेनलाई हराउन सके मात्र नकआउट चरण पुग्ने सम्भावना जीवित रहनेछ। अन्यथा लगातार दोस्रो विश्वकपमा समूह चरणबाटै बाहिरिने जोखिममा पर्नेछ।
खेलमा उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले टोलीमा दुई परिवर्तन गरेका थिए। अल हिलालका फरवार्ड डार्विन नुनेजलाई सुरुआती टोलीमा नराखी बेन्चमा राखिएको थियो। केप भर्डेका प्रशिक्षक बुबिस्टाले भने आक्रमण पङ्क्तिमा तीन परिवर्तन गरेका थिए।
पहिलो अवसर उरुग्वेले सिर्जना गरेको थियो। फेडेरिको भाल्भेर्देको बायाँ खुट्टाको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो। त्यसपछि पिनाले शक्तिशाली फ्रिकिकमार्फत गोल गर्दै केप भर्डेलाई अग्रता दिलाए।
उरुग्वेको बराबरी गोल आउनुअघि केप भर्डेका सिड्नी लोपेस काब्रालले दबाबमा आफ्नै पोस्टमा बल ठोक्काएका थिए। रड्रिगो बेन्टान्कुरको दबाबपछि आएको रिबाउन्डलाई अराउजोले हेडमार्फत जाली चुमाएका थिए।
दोस्रो हाफमा केप भर्डेका गोलकिपर भोजिन्हाले पनि एक गल्ती गरेका थिए। उनको हातबाट बल छुटेपछि अराउहोले गोल गरेका थिए, तर अफसाइडका कारण उक्त गोल मान्य भएन।
खेलको अन्त्यतिर भाल्भेर्देले बक्सबाहिरबाट पाएको फ्रिकिक अवसर खेर फाल्दा उरुग्वे जितबाट वञ्चित रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
फिफा