पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
ratopati.com · Mon Jun 22 01:29:17 GMT 2026

काठमाडौँ। पूर्वमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा गए राति निधन भएको छ।
पछिल्लो समय दमको समस्या बढेपछि काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो।
उनको निधनबारे पाँचखाल नगरपालिकाका प्रमुख एवं उनका छोरा महेश खरेलले जानकारी दिएका छन्। नेपाली राजनीतिका शिखर पुरुषहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग निकट रहेर संगत गरेका नेता खरेल विसं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद सदस्य निर्वाचित भएका थिए। संसदीय यात्राका क्रममा उनी शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए।
पाँचखाल नगरपालिकाका नगरप्रमुख एवं नेपाली कांग्रेस काभ्रे क्षेत्र नं २ का सभापति महेश खरेलका अनुसार स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ। केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गरेपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)