यस वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, गर्मी थप बढ्ने संकेत
aarthiknews.com

काठमाडौं । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले यस वर्षको दक्षिण–पश्चिम मनसुन सामान्यभन्दा कमजोर रहने प्रक्षेपण गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आईएमडीले जूनदेखि सेप्टेम्बरसम्म हुने मनसुनी वर्षा दीर्घकालीन औसत )एलपीए) को करिब ९० प्रतिशत मात्र रहने अनुमान सार्वजनिक गरेको हो।
यसअघि अप्रिल १३ मा जारी पहिलो पूर्वानुमानमा पनि विभागले सामान्यभन्दा कम वर्षा हुने संकेत गरेको थियो। पछिल्लो अद्यावधिक अनुमानमा समेत वर्षा औसतभन्दा कम रहने सम्भावना दोहोर्याइएको छ। मौसमविद्हरूले यस वर्षको कमजोर मनसुनको प्रमुख कारण ‘सुपर एल–निनो’ प्रभावलाई मानेका छन्। यसको असरले भारतका अधिकांश क्षेत्रमा वर्षा घट्ने र तापक्रम बढ्ने सम्भावना रहेको जनाइएको छ।
आईएमडीका महानिर्देशक डा एम मोहपात्राका अनुसार उत्तर–पूर्वी भारतमा सामान्य वर्षा हुने अनुमान गरिएको भए पनि मध्य भारत, उत्तर–पश्चिम भारत तथा दक्षिणी प्रायद्वीपीय क्षेत्रमा औसतभन्दा कम वर्षा हुन सक्ने सम्भावना छ। उत्तर–पश्चिम भारतमा दीर्घकालीन औसतको करिब ९२ प्रतिशत मात्र वर्षा हुने प्रक्षेपण गरिएको छ।विशेषगरी खेतीपातीका लागि महत्वपूर्ण मानिने ‘मनसुन कोर जोन’ क्षेत्रमा पनि अपेक्षाभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
यसैबीच, जून महिनामा भारतका अधिकांश क्षेत्रमा अधिकतम तथा न्यूनतम तापक्रम सामान्यभन्दा माथि रहने अनुमान गरिएको छ। उत्तर प्रदेश, हरियाणा, पञ्जाब, बिहार, ओडिशा, छत्तीसगढ, गुजरात र आन्ध्र प्रदेशका धेरै क्षेत्रमा तथा महाराष्ट्र, तेलंगाना, मध्य प्रदेश र तमिलनाडुका केही भागमा गर्मीको लहरको जोखिम उच्च रहने चेतावनी दिइएको छ। आईएमडीले कमजोर मनसुन र बढ्दो तापक्रमका कारण यस वर्ष पनि भारतका विभिन्न क्षेत्रमा भीषण गर्मीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ।
यसअघि अप्रिलमा सार्वजनिक गरिएको पहिलो पूर्वानुमानमा भारतभर औसत ८० सेन्टिमिटर वर्षा हुने अनुमान गरिएको थियो, जबकि सन् १९७१ देखि २०२० सम्मको दीर्घकालीन औसत वर्षा ८७ सेन्टिमिटर रहेको छ। विभागले यस वर्षको मौसमी वर्षा दीर्घकालीन औसतको करिब ९२ प्रतिशत रहने सम्भावना पनि औंल्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)