स्वस्थ भएर बाँच्न नियमित योग
gorkhapatraonline.com · Mon Jun 22 02:05:48 GMT 2026

योग भन्नाले केवल शारीरिक रूपले गरिने अभ्यास वा कसरत मात्र जनाउँदैन । योग शारीरिक, मानसिक र आध्यात्मिक रूपले स्वस्थ र दुरुस्त भई सन्तुलित जीवन जिउने तरिका हो । पतञ्जलिको योगसूत्रमा अष्टाङ्ग योगका बारेमा उल्लेख छ । शारीरिक योग वा योगाभ्यास त अष्टाङ्ग योगका आठ प्रकारका विधिमध्ये एउटा मात्र हो । अष्टाङ्ग योग अन्तर्गत शारीरिक अभ्यासलगायत, श्वासप्रश्वाससम्बन्धी विभिन्न क्रियाकलाप, व्यक्तिगत र सामाजिक अनुशासन, इन्द्रीयहरूको अन्तर्मुखीकरण, चित्तको एकाग्रता, ध्यान र अन्त्यमा समाधि पर्छन् ।
योगको शाब्दिक अर्थ हो जोड । शरीर र मनबिच जब तादात्म्य हुन्छ, तब योग घटित हुन्छ । आध्यात्मिक दृष्टिले भन्नु पर्दा योगले आत्मा र परमात्माबिचको एकता जनाउँछ । यसले शिव र शक्तिबिचको मिलन तथा व्यष्टि र समष्टिबिचको एकतालाई जनाउँछ । शरीर, मन र भावनाबिच सन्तुलन कायम गर्नु नै योग हो । पतञ्जलिको भनाइ अनुसार ‘चित्तको चञ्चलतालाई रोक्ने वा चित्तलाई निश्चल गराउने विधि नै योग हो । चित्तको तरङ्गलाई रोक्न नसकेसम्म चित्त आफ्नो स्वाभाविक स्थितिमा आउँदैन । जब चित्त आफ्नो स्वाभाविक स्थितिमा फर्कन्छ, तब मानिसले चिरस्थायी शान्ति प्राप्त गर्छ, जुन अवस्थामा सबै प्रकारका द्वन्द्वको अन्त्य हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)