मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समस्या समाधानका लागि उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न राप्रपाका तीन पूर्वअध्यक्षहरूको माग

lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन पूर्वअध्यक्षहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै पार्टीभित्र विद्यमान बेथिति, सङ्कुचित सोच र पूर्वाग्रहपूर्ण कारबाहीमा सुधार ल्याउन माग गरेका छन्। गत असार ५ र ६ गते काठमाडौ|मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो अनुपस्थितिलाई लिएर कार्यकर्तामा उब्जिएको निराशा र आशङ्कालाई चिर्दै उनीहरूले पार्टीको विचार र आदर्शप्रतिको आफ्नो प्रतिबद्धता अटल रहेको प्रष्ट पारेका हुन् । पार्टीभित्रका गलत गतिविधिको साङ्केतिक विरोधस्वरूप आफूहरू बैठकमा अनुपस्थित भएको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा पूर्वअध्यक्षहरूले राप्रपा हाल महत्त्वपूर्ण र चुनौतीपूर्ण मोडमा उभिएको उल्लेख गर्दै नेपालको भूराजनीतिक अवस्था, धार्मिक-सांस्कृतिक पहिचान र ऐतिहासिक विरासतका कारण यो दल देशको प्रमुख नेतृत्वदायी शक्ति बन्न सक्ने पर्याप्त आधार रहेको बताएका छन्।

पार्टीभित्रको अविश्वासको वातावरण अन्त्य गर्न यथाशीघ्र स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन्। अनुशासनका नाममा पूर्वाग्रह र प्रतिशोधका आधारमा गरिने कारबाही तथा केन्द्रीय समितिको बैठकमा कार्यसमिति बाहिरका व्यक्तिहरूलाई सहभागी गराउने परिपाटीप्रति उनीहरूले कडा आपत्ति जनाएका छन्।

महाधिवेशनको निष्पक्षतामा शङ्का गर्दै केही साथीहरूले पार्टी परित्याग गरिसकेको विषम परिस्थितिमा समस्या समाधानका लागि पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने गरी एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ (मार्गदर्शन समिति) गठन गर्न उनीहरूले सुझाव दिएका छन्। पार्टी निर्माणमा रगत-पसिना बगाएका पूर्वअध्यक्षहरूमाथि नै जिम्मेवार व्यक्तिहरूबाट लाञ्छना र आरोप लगाउने प्रवृत्ति देखिनु अत्यन्त दुःखद र अस्वीकार्य भएको वक्तव्यमा उल्लेख छ।

बैठकमा अनुपस्थित रहे पनि उक्त बैठकले आगामी २०८३ मङ्सिर २६ गतेदेखि केन्द्रीय महाधिवेशन आयोजना गर्ने गरेको निर्णयको पूर्वअध्यक्षहरूले स्वागत गरेका छन्। महाधिवेशनको मिति घोषणा भइसकेकाले स्थापित परम्पराअनुसार केन्द्रीय समिति अब स्वतः ‘महाधिवेशन आयोजक समिति’मा रूपान्तरण हुनुपर्ने उनीहरूको धारणा छ।

विधानले नै पूर्वअध्यक्षहरूलाई केन्द्रीय तहका महत्त्वपूर्ण समितिहरूमा पदेन सदस्यको व्यवस्था गरेको स्मरण गराउँदै उनीहरूले पार्टी कमजोर बन्दै गएको अवस्थामा आफूहरू मूकदर्शक वा पलायन भएर बस्न नसक्ने स्पष्ट पारेका छन्। आफ्नो कुनै व्यक्तिगत स्वार्थ वा गुटको राजनीति नरहेको र केवल जीवनकालमै पार्टी पतन भएको देख्न नपरोस् भन्ने मात्र चिन्ता रहेको उनीहरूले बताएका छन्।

महाधिवेशन स्वच्छ र लोकतान्त्रिक ढङ्गले सम्पन्न हुने विश्वास व्यक्त गर्दै तीनै जना पूर्वअध्यक्षहरूले पार्टी छाडेर गएका सम्पूर्ण साथीहरूलाई पुनः घर फर्कन र अन्योलमा रहेका कार्यकर्ताहरूलाई दृढ विश्वासका साथ महाधिवेशनको तयारीमा जुट्न हार्दिक आह्वान गरेका छन्।

आगामी महाधिवेशनले ‘हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र’ को जगमा सुशासन, राष्ट्रिय एकता र आर्थिक समृद्धि सुनिश्चित गर्ने स्पष्ट वैचारिक मार्गदर्शन र व्यावहारिक कार्ययोजना प्रस्तुत गरेर जनविश्वास पुनः प्राप्त गर्नुपर्ने मार्गचित्र वक्तव्यमा प्रस्तुत गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)