मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

annapurnapost.com · Mon Jun 22 02:16:21 GMT 2026

काभ्रेपलाञ्चोक : पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा गए राति निधन भएको छ। दमको समस्या बढेपछि काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

२००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसका नेता खरेल वि.सं २०५६ को आम निर्वाचनमा काभ्रेबाट संसद् सदस्य निर्वाचित भएका थिए। त्यसपछि उनी शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत बनेका थिए। खरेल नेपाली कांग्रेसका संस्थापक शीर्ष नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विश्वासपात्र थिए।

तत्कालीन समयमा कांग्रेसको पार्टी कार्यालय नहुँदा लामो समय खरेलकै घरबाट पार्टी चलेको थियो । उनका छोरा महेश खरेल अहिले पाँचखाल नगरका नगरप्रमुख एवं कांग्रेस काभ्रे क्षेत्र नं २ का सभापति छन्।

पारिवारिक स्रोतका अनुसार खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । अन्तिम संस्कार दिउँसो १ बजे पशुपतिमा गरिने बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)