मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका–इरान शान्ति वार्ताको पहिलो सत्र सम्पन्न : ६० दिने रोडम्याप र उच्चस्तरीय समिति गठन गर्ने सहमति

annapurnapost.com · Mon Jun 22 03:09:10 GMT 2026

बर्गेनस्टक : स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्टमा अमेरिका र इरानबीच चलिरहेको 'लेक लुसर्न समिट' शान्ति वार्ताको पहिलो उच्चस्तरीय सत्र सम्पन्न भएको छ। कतार र पाकिस्तानको मध्यस्थतामा भइरहेको उक्त वार्ताको समाप्तिसँगै दुवै मध्यस्थकर्ता देशले एक संयुक्त विज्ञप्ति जारी गर्दै वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएका छन्।

पाकिस्तानको विदेश मन्त्रालयमार्फत जारी गरिएको संयुक्त विज्ञप्ति अनुसार, वार्तालाई सही दिशा दिन र सम्पूर्ण गतिविधिमाथि निगरानी राख्न एक उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ। वार्ताकारहरूले सोही समितिलाई नियमित रिपोर्ट बुझाउनुपर्ने प्रावधान राखिएको छ।

यसैगरी, आणविक कार्यक्रम, इरानमाथिको प्रतिबन्ध फुकुवा, अनुगमन र विवाद समाधान जस्ता संवेदनशील मुद्दाहरूमा केन्द्रित रहेर काम गर्न छुट्टाछुट्टै विशेष कार्यदल गठन गरिने भएको छ। आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित ठोस कार्ययोजना (रोडम्याप)तयार गरी प्राविधिक तहको छलफल तत्काल सुरु गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ।

यस्तै विश्वकै सबै भन्दा महत्त्वपूर्ण मानिने जलमार्ग 'हर्मुज स्ट्रेट'बाट व्यावसायिक जहाजहरूको आवतजावत सुरक्षित बनाउन र कुनै पनि किसिमको सैन्य टकराव वा असमझदारी हुन नदिन पक्षहरूबीच सिधा सञ्चार सम्पर्क स्थापित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसका साथै, लेबनानमा युद्धविराम सम्झौताको पूर्ण पालना गराउन कतार र पाकिस्तानको नेतृत्वमा लेबनान समेत सहभागी हुने गरी एक विशेष 'डी-कन्फ्लिक्ट'सेल गठन गरिने निर्णय भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)