गुणस्तरहीन भेटिएपछि ‘तेज’ तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन
ajakoartha.com · Fri May 29 08:00:00 GMT 2026

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन ठहरिएको ‘तेज’ ब्राण्डको तोरीको तेल बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुनाको परीक्षण गर्दा सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित ‘तेज’ ब्राण्डको तोरीको तेल न्यूनस्तरको भेटिएको हो ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको परीक्षणमा उक्त तेल नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट फिर्ता गर्न तथा बिक्री वितरण रोक्न निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागका अनुसार फिर्ता गर्न भनिएको तेल आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्राण्डको हो । उक्त तेलको ब्याच नम्बर २० रहेको, उत्पादन मिति २०८२ फागुन २८ तथा उपभोग्य अवधि ६ महिना उल्लेख गरिएको छ ।
उक्त उत्पादन रुपन्देहीको गुरबानियास्थित सिद्धार्थ आयल इन्डस्ट्रिजले उत्पादन गरेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)