आन्तरिक मामिलाको बजेट शिक्षामा
gorkhapatraonline.com · Mon Jun 22 03:28:57 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आन्तरिक मामिला मन्त्रालयको बजेट शिक्षा र सामाजिक सङ्घ संस्थाका भवन निर्माणमा विनियोजन गरेको पाइएको छ ।
आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आव २०८३÷८४ को वार्षिक विकास कार्यक्रममा उल्लेख भए अनुसार आन्तरिक मामिला मन्त्रालयको करिब १९ करोड रुपियाँ मुख्यमन्त्रीको निर्वाचन क्षेत्र लम्कीचुहा नगरपालिकाका विद्यालय र सङ्घ संस्थामा हालिएको छ । यसमा विभागीय मन्त्रीले असन्तुष्टि व्यक्त गर्नुभएको छ । आन्तरिक मामिलामन्त्री हिरासिंह सार्कीले भन्नुभयो, “आफ्नो मन्त्रालयको बजेटमा अर्कै क्षेत्रको योजना हालेकोमा हाम्रो असहमति छ ।”
बजेटमा चलखेल भएपछि सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी ((नेकपा) एमालेले बजेट संशोधनको तयारी गरेको छ भने नेपाली कांग्रेसका प्रदेश सभा सदस्य, विधायन तथा प्रदेश मामिला सभापति दिवानसिंह विष्टले मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा बजेट खन्याएको र समानता र न्यायको सिद्धान्त पालना नभएको बताउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पत्रकार सम्मेलनमार्फत नयाँ बजेट ल्याउनुपर्ने माग गरेको छ ।
विनियोजित बजेट अनुसार यस क्षेत्रमा पूर्वाधार विकास कार्यालयबाट कार्यान्वयन हुने गरी ६१ करोड ६८ लाख रुपियाँ, सहरी विकास तथा भवन निर्माण कार्यालयबाट १० करोड छ लाख रुपियाँ, खानेपानीमा २३ करोड ५२ लाख रुपियाँ, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयबाट कार्यान्वयन हुने गरी २१ करोड ६६ लाख रुपियाँका योजनामा बजेट विनियोजन भएको छ । तीन वटा मन्त्रालय र तिनका कार्यालयबाट मात्रै लम्कीचुहा नगरपालिका र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा एक अर्ब ३६ करोड रुपियाँका योजना देखिएको मन्त्री सार्की र सभापति विष्टको भनाइ छ ।
टीकापुर नगरपालिकामा विकास बजेट २० करोड रुपियाँ पनि नदेखिएपछि यहाँका नागरिकले चित्त दुखाएका छन् । दैनिक छ सयभन्दा बढी बिरामीलाई सेवा दिइरहेको टीकापुर अस्पताल तत्कालीन टीकापुर विकास समितिले प्राथमिक स्वास्थ्य केन्द्रका लागि बनाइदिएको र पछि कोइकाको सहयोगमा बनेका ससाना भवनबाट सेवा दिइरहेको छ । हाल प्रदेशमातहतमा रहेको टीकापुर अस्पतालले सहज रूपमा सेवा प्रदान गर्न बहुतले भवनको आवश्यकता छ । बर्सौंपछि यस पटक प्रदेशले भवन निर्माणका लागि विनियोजन गरेको बजेट पनि जम्मा पाँच करोड रुपियाँ मात्रै रहेको छ ।
नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईं भन्नुहुन्छ, “गत वर्षकै नियति देखियो । मध्यरातसम्म लगाएर ल्याएको बजेटमा प्रणालीगत विकास भएन । सबै क्षेत्रमा समान बजेट दिएर साझा बन्नुपर्ने मुख्यमन्त्री आफ्नै क्षेत्रमा धेरै बजेट ल्याएँ भनेर गर्वका साथ भन्नुहुन्छ, यही नै गल्ती हो ।”
नेपाली कांगे्रसका प्रदेश सभा सदस्य ललिता सुनार पनि आफ्नो क्षेत्रको अनुहार नै नदेखिने बजेट पास गर्न नसकिने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “२०८३ जेठ १७ गते सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सबै दलका संसदीय दलका नेता, उपनेता र सचेतक सहभागी बैठकले गरेको निर्णयविपरीत योजनामा बजेट हालिएको छ । बैठकले सरकारले व्यक्ति, समूह, निजी फर्म, कम्पनीलाई तोकेर बजेट विनियोजन नगर्ने, जोडिएर आएका योजनामा बजेट विनियोजन हुने छैन भन्ने निर्णय गरे पनि लम्कीचुहामा एउटै संस्थामा दोहोरो तेहेरो बजेट विनियोजन गरिएको छ । यस्तो विनियोजन पहुँचवालाका अरू संस्थामा पनि देखिएको छ ।”
सुदूरपश्चिम सरकारका अघिल्ला वर्षका बजेट पनि असन्तुलित थिए । एउटा ठाउँमा विनियोजन गरेको बजेट अर्कै ठाउँमा खर्च गर्दै आएको छ । गत वर्ष टीकापुर नगरपालिका–१ मा नवबिहानी पुनस्र्थापन केन्द्रदेखि एयरपोर्टसम्मको बाटो बनाउन एक करोड रुपियाँ विनियोजन गरेकोमा सो बजेट अर्कै बाटो बनाउन खर्च भएको छ ।
यस वर्ष पनि सोही नाममा बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले यहाँ स्थापना गर्ने भनेर चर्चामा ल्याएको टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि पनि नाम मात्रको बजेट राखेको छ ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
शिक्षक आन्दोलन