मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा इजिप्टको ९२ वर्षपछिको जित

himalpress.com · Mon Jun 22 03:34:15 GMT 2026

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इजिप्टले न्युजिल्यान्डमाथि ३–१ को पुनरागमन जित दर्ता गरेको छ। यो जितसँगै इजिप्टले विश्वकप इतिहासमा ९२ वर्ष लामो जितको खडेरी तोड्दै ऐतिहासिक सफलता हात पारेको छ । सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेको इजिप्टको ९ खेलपछि यो पहिलो विश्वकप जित हो।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस रंगशालामा भएको खेलको पहिलो हाफमा न्युजिल्यान्डले अप्रत्यासित अग्रता लिएको थियो । फिन सुर्मानले उत्कृष्ट हेडरमार्फत गोल गर्दै न्युजिल्यान्डलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । विश्वकप इतिहासमा न्युजिल्यान्डले पहिलो हाफमा अग्रता लिएको यो पहिलोपटक हो ।

तर, दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको २४ मिनेटभित्र इजिप्टले लगातार ३ गोल फर्कायो । मोस्ताफा जिकोले हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि टोलीका स्टार खेलाडी कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए। खेलको अन्त्यतिर सलाहकै कर्नर पासमा सब्सिच्युट खेलाडी ट्रेजेगुएले हेडरमार्फत तेस्रो गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे।

यो जितसँगै ४ अंक जोडेर इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ भने अन्तिम ३२ मा पुग्ने सम्भावना निकै बलियो बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय