अमेरिका-इरान वार्ताको पहिलो चरण सम्पन्न, मध्यस्थकर्ता भन्छन्- उत्साहजनक प्रगति भएको छ
nepalviews.com · Mon Jun 22 03:44:44 GMT 2026

एजेन्सी । युद्ध अन्त्यका लागि अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा सुरु भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ । मध्यस्थकर्ता राष्ट्रहरू कतार र पाकिस्तानले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उत्साहजनक प्रगतिका साथ वार्ता सम्पन्न भएको जानकारी दिएका हुन् । ।
गत साता दुई देशबीच भएको प्रारम्भिक सम्झौतापछि आइतबारदेखि वार्ता सुरु भएको थियो। दुई देशका प्रतिनिधि सम्मिलित एक 'उच्चस्तरीय समिति' आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने मार्गचित्र (रोडम्याप) मा सहमत भएको विज्ञप्तिमा उल्लेख छ । यसका लागि प्राविधिक तहका वार्ताहरू यो साताभरि जारी रहनेछन्।
वार्तामा सहभागी एक अमेरिकी कूटनीतिज्ञका अनुसार स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र लेबनानमा युद्धविराम लागू गर्ने विषयमा इरानको तर्फबाट आएका केही 'भ्रामक सन्देशहरू' लाई स्पष्ट पार्न छलफल केन्द्रित रहेको थियो।
मध्यस्थकर्ताहरूको विज्ञप्तिमा होर्मुज हुँदै व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित घटना र गलत बुझाइलाई रोक्न एक 'सञ्चार लाइन' स्थापना गरिएको उल्लेख छ। अमेरिकी कूटनीतिज्ञले आणविक सम्झौताका विभिन्न आयाममाथि पनि छलफल भएको र स्विट्जरल्याण्डको लुसर्न सहरमा भएको यस वार्तालाई आगामी प्राविधिक वार्ताको प्रस्थान बिन्दुका रूपमा लिइने बताएका छन्।
गत साता भएको प्रारम्भिक सम्झौतामा लेबनानसहित 'सबै मोर्चाहरू' मा युद्ध अन्त्य गर्ने, होर्मुज पुनः खोल्ने र ६० दिनभित्र अन्तिम सम्झौता गर्ने प्रतिबद्धता जनाइएको थियो। यद्यपि, त्यसयता दक्षिण लेबनानमा हिजबुल्लाह र इजरायली सेनाबीच भिडन्त बढेको छ। इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित दर्जनौं लेबनानी मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बढ्दो तनावकै बीच अमेरिकाले शुक्रबार इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविराम घोषणा गरेको थियो।
लेबनानमा सैन्य कारबाही अन्त्य भएको सुनिश्चित गर्न कतार र पाकिस्तानको सहजीकरणमा सम्बन्धित पक्षहरू र लेबनान गणतन्त्रबीच द्वन्द्व निवारण कक्ष स्थापना गर्न दुवै पक्ष सहमत भएको विज्ञप्तिमा उल्लेख छ।
ट्रम्पको धम्की र इरानको जवाफ
लुसर्नमा वार्ता सुरु हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले लेबनानमा रहेका आफ्ना 'प्रोक्सीहरू' लाई तत्काल रोक्नुपर्ने र त्यसो नगरे इरानमाथि 'फेरि कडा प्रहार' गर्ने चेतावनी दिएका थिए। यसको जवाफमा इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले ट्रम्पको धम्कीलाई खारेज गर्दै उनीहरूको धम्कीले काम गरेको भए आज उनीहरू यस्तो हताश अवस्थामा नहुने टिप्पणी गरे।
आइतबार लेबनानमा भिडन्त केही कम भएको खबर आए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उत्तरी इजरायलको सुरक्षाका लागि आवश्यक परे जति समय इजरायली सेना दक्षिण लेबनानमा रहने अडान लिएका छन्। यता, हिजबुल्लाहका नेता नइम कासिमले दक्षिण लेबनानमा कुनै पनि इजरायली सैन्य उपस्थितिलाई अस्वीकार गर्दै आफूहरूको रक्षा गर्ने बताएका छन्।
स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्टमा वार्ताअघि बोल्दै अमेरिकी प्रमुख वार्ताकार एवं उपराष्ट्रपति जेडी भान्सले ट्रम्पले वार्ताकारहरूलाई 'नयाँ अध्याय सुरु गर्न' निर्देशन दिएको बताए। इरानले क्षेत्रीय अस्थिरता बढाउने कार्य र आफ्नो दीर्घकालीन 'आणविक हतियारको महत्त्वाकांक्षा' त्याग्न तयार भए अमेरिका पनि इरानसँगको सम्बन्धलाई मौलिक रूपमा रूपान्तरण गर्न तयार रहेको उनले स्पष्ट पारे। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ। वार्तामा भान्ससँगै ट्रम्पका ज्वाइँ जारेड कुस्नर र विशेष दूत स्टिभ विटकफ सहभागी थिए भने गालिबाफको साथमा इरानका विदेशमन्त्री अब्बास अरागची उपस्थित थिए।
यसै साताको सुरुमा हस्ताक्षर गरिएको प्रारम्भिक सम्झौताअनुसार विश्वको २० प्रतिशत तेल र ग्यास आवतजावत गर्ने होर्मुज इरानले खुला गर्नुपर्नेछ। सम्झौतामा इरानी बन्दरगाहहरूमा आउने-जाने जहाजहरूमाथिको अमेरिकी सैन्य नाकाबन्दी हटाउने, इरानको 'पुनर्निर्माण' का लागि ३ खर्ब (३०० अर्ब) डलरको योजना अघि बढाउने र अमेरिकाले इरानमाथिका सबै प्रकारका प्रतिबन्धहरू खारेज गर्ने महत्त्वपूर्ण बुँदाहरू समावेश छन्।
जलमार्ग खुल्लै रहेको सङ्केत
इरानले जलमार्ग बन्द गरेको दाबी गरे पनि म्यारिनट्राफिक वेबसाइटको डेटाअनुसार आइतबार केही ट्याङ्कर र कार्गो जहाजहरू होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेको देखिएको छ।
सम्झौताले सबै मोर्चाहरूमा युद्ध रोक्न आह्वान गरे पनि लेबनानमा हालैका इजरायली हवाई आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको छ भने हिजबुल्लाहको आक्रमणमा पाँच इजरायली सैनिक मारिएका छन्। इजरायलले हिजबुल्लाहसँगको आफ्नो द्वन्द्व फेब्रुअरी २८ मा अमेरिकासँग मिलेर इरानविरुद्ध सुरु गरेको युद्धभन्दा फरक रहेको दाबी गर्दै आएको छ। इरानका सर्वोच्च नेता मारिएको आक्रमणको बदलामा हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान युद्धमा तानिएको थियो।
मार्च २ यता लेबनानमा ४ हजार ५७ जनाको मृत्यु भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने इजरायली अधिकारीहरूका अनुसार लेबनानमा कम्तीमा ३४ इजरायली सैनिक र उत्तरी इजरायलमा ४ जना सर्वसाधारण मारिएका छन्। लेबनानको करिब ५ प्रतिशत दक्षिणी भूभाग कब्जा गरेको इजरायलले त्यहाँबाट पछि हट्ने आफ्नो कुनै मनसाय नरहेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
डोनाल्ड ट्रम्प
इजरायल
नइम कासिम