मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्ववडाध्यक्ष मण्डल एक सातादेखि बेपत्ता

gorkhapatraonline.com · Mon Jun 22 04:51:05 GMT 2026

धनुषाको सहिदनगर नगरपालिका–३, यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि बेपत्ता हुनुहुन्छ । गत आइतबार दिउँसो औषधी लिन घरबाट जनकपुरका लागि निस्कनुभएका मण्डल त्यसयता सम्पर्कविहीन रहेको परिवारका सदस्यले जनाएका छन् । पूर्ववडाध्यक्ष मण्डलकी भाउजू पार्वती मण्डलले देवर सम्पर्कविहीन बनेपछि घरपरिवारका सदस्य चिन्तामा रहेको बताउनुभयो । उहाँका अनुसार मण्डललाई दुई महिनादेखि राति निन्द्रा नलाग्ने समस्या थियो । उहाँ नियमित औषधी सेवन गर्दै आउनुभएको थियो । औषधी सकिएपछि जनकपुर जान भन्दै मोटरसाइकल लिएर घरबाट निस्कनुभएको हो । त्यसपछि उहाँ घर फर्किनुभएको छैन र फोनमा समेत सम्पर्क हुन सकेको छैन ।

भाउजू पार्वतीले घरपरिवारमा कुनै विवाद वा मनमुटाब नभएको बताउँदै मण्डल सामान्य अवस्थामै औषधी लिन घरबाट निस्कएको जानकारी दिनुभयो । उहाँका अनुसार मण्डलले प्रयोग गर्ने मोटरसाइकल र हेल्मेट जनकपुरको पुलचोकस्थित घरमा सुरक्षित रहेको छ । उहाँकी भाउजू मण्डलले खोजी कार्य गरिदिन सरोकारवालालाई आग्रह गर्नुभएको छ । छिमेकी दीपेन्द्र मण्डलले पूर्ववडाध्यक्ष मण्डल जनकपुर गएकै दिन रेल चढेर जयनगरतर्फ गएको सूचना प्राप्त भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)