मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका र इरान सहमतिले घट्यो कच्चा तेलको मूल्य, आपूर्ति अझै सहज हुने अपेक्षा

lokaantar.com

अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा सम्पन्न पहिलो चरणको उच्चस्तरीय वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । इरानले आफ्नो कच्चा तेल र पेट्रोकेमिकल निर्यातका लागि अमेरिकी प्रतिबन्धहरूमा छुट प्राप्त गरेको दाबी गरेसँगै विश्व बजारमा तेल आपूर्तिको अभाव हुने चिन्ता कम हुँदा मूल्य ओरालो लागेको हो ।

सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.५३ डलर अर्थात् १.९० प्रतिशतले घटेर ७९.०४ डलरमा ओर्लिएको छ । यसअघि सोमबार बजार खुल्नेवित्तिकै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८२.३० डलरसम्म पुगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः युद्ध शुरू गर्ने दिएको धम्की र इरानले हर्मुज जलमार्ग फेरि बन्द गर्ने घोषणा गरेपछि बजारको शुरूआती कारोबारमा तेलको मूल्य ह्वात्तै बढेको थियो ।

गत अप्रिलदेखि जारी कमजोर युद्धविरामलाई कम्तीमा थप ६० दिनसम्म लम्ब्याउने गरी गत हप्ता भएको प्रारम्भिक समझदारी पत्रको सर्तअनुसार आइतबार र सोमबार स्विट्जरल्याण्डमा उच्चस्तरीय वार्ता भएको थियो । मध्यस्थकर्ताहरूका अनुसार दुवै देशका उच्च अधिकारीहरूले सोमबार पहिलो चरणको वार्ता सफलतापूर्वक सम्पन्न गरेका छन् ।

वार्तापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले कच्चा तेल र पेट्रोकेमिकल निर्यातका लागि प्रतिबन्धहरूमा छुट प्राप्त गर्न सफल भएको जानकारी दिएका छन् । साथै, अमेरिकाद्वारा रोक्का गरिएका कतिपय इरानी वित्तीय सम्पत्तिहरू फुकुवा गर्ने र इरानका लागि पुनर्निर्माण तथा विकास योजना शुरू गर्ने विषयमा समेत सहमति बनेको अराघचीले दाबी गरे ।

बजार विश्लेषकहरूका अनुसार सप्ताहन्तमा स्विट्जरल्याण्डमा भएको वार्ताले सकारात्मक प्रगति गरेको र दुवै पक्ष उच्चस्तरीय समिति गठन गर्न सहमत भएका छन् । तर, यो सहमतिले जमिनी धरातलमा कत्तिको अर्थपूर्ण नतिजा दिन्छ भन्ने कुरा हेर्न बाँकी नै छ, विशेष गरी दक्षिणी लेबनानमा जहाँ इजरायल र हिजबुल्लाह दुवै पक्ष आफ्नो लडाइँ जारी राख्ने मनस्थितिमा देखिन्छन् ।

वार्ता शुरू हुनुअघि आइतबार हर्मुज भएर आवतजावत गर्ने जहाजहरूको सङ्ख्यामा ठुलो गिरावट आएको ढुवानी तथ्याङ्कले देखाएको थियो । इरानले अन्तरिम शान्ति सम्झौतालाई अमेरिका र इजरायलले उल्लङ्घन गरेको आरोप लगाउँदै सो जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेपछि यो स्थिति सिर्जना भएको थियो ।

इजरायल र हिजबुल्लाहबिच महिनाौँदेखि बढ्दै गएको हिंसा रोक्ने उद्देश्यले शुक्रबार मात्रै युद्धविराम लागू भएको थियो । तर, त्यसको भोलिपल्टै शनिबार इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चार माध्यम एनएनएले जनाएको छ ।

यद्यपि, इरान र अमेरिकाबीचको सम्झौतापछि खाडी क्षेत्रमा अड्किएका तेलका जहाजहरू सुरक्षित रूपमा निस्कन पाउने र इरानी तेलमाथिको अमेरिकी प्रतिबन्ध फुकुवा हुने आशामा गत हप्ता मात्रै कच्चा तेलको मूल्यमा ८ प्रतिशतभन्दा बढीको गिरावट आइसकेको थियो । नेशनल इरानी अइल कम्पनीका प्रमुख हमिद बोभार्डले सरकारी टेलिभिजनमार्फत जानकारी दिएअनुसार गत सोमबारयता २५ करोड (२५ मिलियन) ब्यारेल भन्दा बढी इरानी तेल अमेरिकी नाकाबन्दी रेखा पार गरेर अन्तर्राष्ट्रिय बजारमा गइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय